बालेनलाई हर्क साम्पाङको प्रश्नः के खान मुस्ताङ जानुभयो ?

बालेनलाई हर्क साम्पाङको प्रश्नः के खान मुस्ताङ जानुभयो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर संसदमा प्रश्न उठाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भ्रमणलाई निजी भनिए पनि त्यस क्रममा सरकारी सुरक्षा संयन्त्र परिचालन हुने भएकाले भ्रमणको उद्देश्य र औचित्य सदनलाई जानकारी गराउनुपर्ने राईको माग छ ।

प्रधानमन्त्रीको पदमा रहेपछि निजी भ्रमणका नाममा सार्वजनिक जिम्मेवारीबाट अलग हुन नसकिने तर्क उनको थियो ।

‘प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन । यो कुरा हेक्का राख्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री एक्लै मुस्ताङ नगएको र उनको सुरक्षाका लागि सरकारी संयन्त्रसमेत परिचालन भएको भन्दै राईले मन्त्रिपरिषद् र संसदलाई जानकारी नदिई भ्रमण गरिएको भए त्यसबारे सरकारले जवाफ दिनुपर्ने बताए ।

‘प्रधानमन्त्री एक्लै जानुभएको होइन, उहाँसँग सरकारी सुरक्षा संयन्त्र अटोमेटिकल्ली एक्टिभ भएर जाने गर्छ,’ उनले भने ।

प्रधानमन्त्री निजी भ्रमणमा गएको भए त्यसको उद्देश्यसमेत सार्वजनिक गर्नुपर्ने भन्दै राईले व्यंग्यात्मक शैलीमा प्रश्न गरे, ‘मन्त्रिपरिषद्लाई, संसदलाई सूचना नदिई जानुभएको हो, के खान जानुभएको हो ? हावा थिएन भनौँ भने काठमाण्डुमा हावा छ, मुस्ताङमा स्याउ पनि फलेको छैन होला अहिले, कि के चाख्न जानुभएको हो ?’

प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे सदनमा जवाफ दिनुपर्ने राईको माग छ ।