कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्दै, ८० बढी महिलाका उत्पादन प्रदर्शनीमा राखिने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्दै, ८० बढी महिलाका उत्पादन प्रदर्शनीमा राखिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आगामी भदौ ११ गते आयोजना हुने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा बिहान ८ बजेदेखि अपराह्न ६ बजेसम्म सञ्चालन हुने सम्मेलनको उद्देश्य महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलताको प्रवर्द्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई थप प्रभावकारी बनाउनु रहेको आयोजकले जनाएको छ ।

सम्मेलनमा स्टार्टअप, लघु, साना तथा मझौला उद्यम क्षेत्रमा कार्यरत महिला उद्यमीबिच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र व्यावसायिक सञ्जाल निर्माणका विषयमा छलफल हुने बताइएको छ ।

सम्मेलनसँगै नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनीसमेत आयोजना गरिनेछ । प्रदर्शनीमार्फत महिला उद्यमीले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर पाउनेछन् ।

कार्यक्रममा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वको सहभागितामा महिला उद्यमशीलतासम्बन्धी ३ वटा विषयगत प्यानल सञ्चालन गरिनेछ । प्यानलमा महिला उद्यमीले भोगिरहेका चुनौती, लगानी तथा वित्तीय पहुँच, प्रविधि र डिजिटल बजारको सम्भावना तथा व्यवसाय विस्तारका अवसरबारे छलफल गरिने आयोजकले जनाएको छ ।

सम्मेलनको विशेष आकर्षणका रूपमा ‘मेरो उद्यमशील यात्रा’ नामक स्टोरीटेलिङ सत्र सञ्चालन हुनेछ । सत्रमा सफल महिला उद्यमीले आफ्नो उद्यम यात्रा, संघर्ष, चुनौती, सफलता र सिकाइका अनुभव साझा गर्नेछन् ।

महिला उद्यमीलाई व्यवसाय दर्ता, वित्तीय पहुँच, लगानी, सरकारी सेवा तथा उद्यम विस्तारका अवसरबारे जानकारी दिन सम्मेलनस्थलमा लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्रसमेत सञ्चालन गरिनेछ । सम्मेलनमा बीटुबी तथा बीटुसी नेटवर्किङलाई पनि प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

१ दिने सम्मेलनमा १० हजारभन्दा बढी सहभागीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । सम्मेलनको समापनमा महिला उद्यमशीलतासँग सम्बन्धित प्रमुख सुझाव, प्रतिबद्धता तथा आगामी कार्यदिशा समेटिएको ‘सानेपा घोषणापत्र’ सार्वजनिक गरिनेछ ।

कार्यक्रममा नेपाल महिला संघले सहकार्य गर्नेछ । सम्मेलन महिला उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारीका क्षेत्रमा केन्द्रित रहेको नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमिति संयोजक खगेन्द्र आचार्यले जानकारी दिए ।