एमालेभित्र नेतृत्व परिवर्तनको बहस कमजोर, पौडेल ओलीतिरै फर्किएपछि एक्लिए पोखरेल

एमालेभित्र नेतृत्व परिवर्तनको बहस कमजोर, पौडेल ओलीतिरै फर्किएपछि एक्लिए पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमाले अध्यक्ष केपी ओली आफूलाई नेतृत्वबाट बिदा गर्न सक्रिय नेताहरूबीच फाटो ल्याएर र्टीभित्र आफ्नो पकड थप बलियो बनाउने रणनीति अघि बढाएका छन् ।

नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको पक्षमा एकै ठाउँमा उभिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच पछिल्लो समय दूरी बढेसँगै ओलीको पक्ष बलियो देखिएको हो ।

ओलीलाई नेतृत्वबाट हटाएर पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा यसअघि पौडेल र पोखरेलबीच समान धारणा थियो ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले देशभरबाट संकलन गरेको सुझावका आधारमा तयार पारिएको प्रतिवेदनमा राष्ट्रिय प्रतिनिधि परिषद् वा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव अघि सारिएको थियो ।

प्रतिवेदन लेखनको जिम्मेवारी पाएका पोखरेलले तयार पारेको उक्त प्रस्तावमा पौडेलको समेत सहमति थियो ।

तर, नेतृत्व परिवर्तनको अभियान तल्लका कमिटीसम्म विस्तार हुँदै जाँदा पौडेल पछाडि हटेको नेताहरूको बुझाइ छ ।

केही दिनअघि विराटनगरमा पार्टी निकट पत्रकारको संस्था प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले यही नेतृत्वलाई निरन्तरता दिने पक्षमा आफूहरू रहेको बताएका थिए ।

पौडेल ओलीको पक्षमा उभिएपछि पोखरेलले ओलीलाई ‘ब्यालेन्स’ गर्न उक्त अभिव्यक्ति दिएको एमालेका एक नेताले बताए ।

उनका अनुसार ओलीले नेतृत्व परिवर्तनको पक्षमा रहेका नेताहरूबीचको एकतालाई कमजोर पार्न निरन्तर संवाद र राजनीतिक व्यवस्थापन गरिरहेका छन् ।

‘पहिला नेतृत्व परिवर्तनको पक्षमा एउटै ठाउँमा देखिएका नेताहरू अहिले अलग–अलग देखिनु संयोग मात्रै होइन’, ती नेताले भने, ‘अध्यक्ष तत्कालका लागि आफूविरुद्धको मोर्चा कमजोर बनाउन सफल हुनुभएको देखिन्छ ।’

पौडेल आफ्नो पक्षमा उभिएपछि ओलीले पार्टीभित्र आफूलाई थप बलियो महसुस गर्न थालेको विश्लेषण नेताहरूको छ । नेतृत्व परिवर्तनको अभियान हाँकेका पोखरेल तुलनात्मक रूपमा एक्लिँदै गएका छन् ।

ओलीले पुनर्गठन अभियानमा लागेका नेता–कार्यकर्ताप्रति सार्वजनिक रूपमा आक्रामक अभिव्यक्ति दिनुले पनि ओलीले आफूलाई बलियो ठानेको रुपमा बुझ्न सकिन्छ ।

दुई सातअघि इलाम पुगेका ओलीले पार्टी पुनर्गठनको अभियानमा लागेका नेता–कार्यकर्ताको आलोचना गर्दै उनीहरूलाई आवारा’ को संज्ञा दिएका थिए ।

ओलीको पछिल्लो अभिव्यक्ति र पौडेलको बदलिएको भूमिकाले एमालेभित्र तत्काल नेतृत्व परिवर्तनको बहस कमजोर पार्ने प्रयास भइरहेको संकेत गरेको ती नेताको भनाइ छ ।

‘अध्यक्षको अहिलेको मुख्य रणनीति नै नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई अलग–अलग पार्नु र पार्टीमा आफ्नो पकड कायम राख्नु देखिन्छ’, उनले भने ।