काठमाण्डु– काठमाण्डु उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको सञ्जाल काठमाण्डु उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
मंगलबार बसेको आकस्मिक बैठक ले प्रधानमन्त्री शाहलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
फोरमले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय माग गरेर उक्त विषय उठाउने जनाएको छ।
‘प्रधानमन्त्री बालेन्द्र शाहसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाई फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत फोरमले आपत्ति जनाएको छ। प्रधानमन्त्रीसँगको भेटमा उक्त विषयसमेत जानकारी गराउने निर्णय भएको छ।
फोरमले यसअघि पनि बालेन्द्र शाह काठमाण्डु महानगरपालिकाका प्रमुख हुँदादेखि नै उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेप वेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको वैकल्पिक मार्ग प्रशस्त गर्नुपर्ने विषयमा पटक–पटक छलफल गर्दै आएको जनाएको छ।
उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएकाले यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको फोरमले जनाएको छ।
फोरमले फोहोर व्यवस्थापनको स्थायी समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकोसमेत जनाएको छ।





प्रतिक्रिया