काठमाण्डु– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीको मनोबल ३६ वर्षयताकै कमजोर भएको बताएका छन् ।
मंगलबार नाडा अटो शोमा बोल्दै अध्यक्ष श्रेष्ठले आफ्नो ३६ वर्षको व्यवसायीक यात्रामा यस्तो कमजोर समय नदेखेको बताएका हुन् ।
उनले भने, ‘देशको अर्थतन्त्र एकदम चुनौतीपूर्ण घडीमा छ । निजी क्षेत्रले एउटै चुनौती भोगिरहेको छ त्यो हो शिथिल बजार, कमजोर मानसिकता र चुनौतीपूर्ण व्यापार व्यवसाय । झन्डै ३६ वर्षको मेरो व्यावसायिक यात्रामा व्यवसायीहरूको यति कमजोर मनोबल कहिल्यै देखेको थिइनँ ।’
उनले अहिलेको नयाँ सरकारले ७ वर्षमा १०० खर्बको अर्थतन्त्र बनाउने घोषणा गरेपनि ती कामहरू अगाडि बढाउन के कस्ता रणनीतिहरू कार्यान्वयन गरिरहेको छ त्यसबारे केही जानकारी नभएको बताए ।
‘अहिले नयाँ सरकार आएको छ र अर्थतन्त्रलाई अगाडि बढाउँछु भनेर प्रतिबद्धताहरू गरेको छ । ५ देखि ७ वर्षमा ३ हजार डलरको प्रतिव्यक्ति आय, १०० खर्बको अर्थतन्त्र र १२ लाखलाई रोजगारी दिने कुरा गरिरहेको छ । बजेटबाट घोषणा त गर्यो । तर, ती कामहरू अगाडि बढाउन रणनीतिहरू के लिए ? प्लानिंग खोइ ? उनले प्रश्न गरे ।
उनले नेपालको अर्थतन्त्रलाई रि इन्जिनियरिङ्ग गर्नुपर्ने अवस्था आएको उनले बताए ।




प्रतिक्रिया