काठमाण्डु–राप्रपा नेता कमल थापाले बागमती प्रदेशका तीन मन्त्रीलाई सांसदबाट पदमुक्त गर्नेसम्बन्धी निर्णयको वैधतामा प्रश्न उठाएका छन् ।
थापाले अध्यक्ष राजेन्द्र लिङदेनको कारबाहीसम्बन्धी निर्णय नै ‘फेक’ भएको दाबी गरेका छन् ।
पार्टीको संस्थागत निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै लिङदेनले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई बर्खास्त गरेको हो ।
राप्रपाले उनीहरुलाई बर्खास्त गर्न उपसभामुख र निर्वाचन आयोगमा पत्रसमेत पठाइसकेको छ ।
‘गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन । यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु’, थापाले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा ‘फेक’ हो कि भन्ने पनि लाग्छ, यो सत्य नहोस् ।’
यसअघि बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीप्रति समेत थापाले असहमति जाहेर गरेका थिए ।
प्रदेशसभामा १२ सांसद् रहेको राप्रपाको एउटा समूह एमाले नेतृत्वको प्रदेश सरकारमा सहभागी भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।




प्रतिक्रिया