एजेन्सी– अमेरिकाले आतंकवादलाई प्रश्रय दिने मुलुकको सूचीबाट सिरियालाई हटाएको छ ।
अमेरिकाले सिरियामाथि सन् १९७९ देखि ‘आतंकवाद प्रश्रय दिने’ मुलुकको सूचीमा राख्दै आएको थियो ।
४७ वर्षपछि उक्त प्रतिबन्धबाट सिरियालाई अलग गर्नुको पछाडि पछिल्लो समय सिरिया सरकारले आतंकवादविरुद्ध चालेका कदमलाई कारणका रुपमा अथ्र्याएको छ ।
विदेशमन्त्री मार्को रुबियोले सिरियालाई उक्त सूचीबाट हटाइएको घोषणा गरेका हुन् ।
योसँगै सिरियामाथि लाग्दै आएको अमेरिकी आर्थिक नाकाबन्दी, रक्षा सामग्रीको निर्यात तथा वित्तीय कारोबारमामाथिको प्रतिबन्ध हटेको छ ।
अमेरिकी घोषणाले सिरियामा निजी तथा विदेशी लगानीका लागि वातावरण सहज हुने अमेरिकी अधिकारीहरुको दाबी रहेको बीबीसीले जनाएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले अब सिरियाका लागि बाह्य लगानी भित्र्याउने वातावरण बनेको प्रतिक्रिया दिएका छन् ।
यसैबीच सिरियाली विदेशमन्त्री असद अल–शैबानीले अमेरिकी घोषणाको स्वागत गरेका छन् । उनले उक्त घोषणालाई ऐतिहासिक उपलब्धिको संज्ञा दिँदै सिरिया अब नयाँ चरणमा प्रवेश गरेको बताए ।
राष्ट्रपति अहमद अल–शरा नेतृत्वमा सरकार बनेपछि सिरिया अमेरिकासँगको दुश्मनीपूर्ण सम्बन्ध सुधारमा केन्द्रित भएको थियो ।
पछिल्लो समय सिरियाले इस्लामिक स्टेट र अल–कायदाजस्ता आतंकवादी समूहमाथिको कारबाहीलाई तीव्रता दिएको थियो ।
पश्चिम एसिया अर्थात् मध्यपूर्वमा पर्ने सिरिया युरोप, एसिया र अरब क्षेत्रबीचको सम्पर्क सेतुका रुपमा रहेको छ ।
विश्वका प्राचीन सभ्यताको केन्द्रमध्ये एक सिरियाको दमास्कस, एलेप्पो, बोस्रा, पाल्माइरा र क्राक दे शेभालिये जस्ता स्थान युनेस्कोको विशवसम्पदा सूचीमा सूचीकृत छन् ।
सिरियासँग तेल, प्राकृतिक ग्यास, फस्फेट, जिप्सम, चुनढुंगा, मार्बल, रक साल्ट, फलाम तथा क्रोमियम–म्याङ्गानिज लगायतका प्राकृतिक स्रोतको अथाह भण्डार छ ।
सिरिया हटेसँगै अमेरिकाको ‘आतंकवादलाई प्रश्रय दिने’ मुलुकको सूचीमा उत्तर कोरिया, इरान र क्युबा मात्र बाँकी छन् ।




प्रतिक्रिया