प्रचण्डसामु नेकपा असन्तुष्ट सांसदको ६ बुँदे सहमति पत्रको मस्यौदा

प्रचण्डसामु नेकपा असन्तुष्ट सांसदको ६ बुँदे सहमति पत्रको मस्यौदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सत्ता साझेदार ३ दलबिच हुने भनिएको समझदारीको ६ बुँदे मस्यौदा नेकपाका असन्तुष्ट सांसदहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बुझाएका छन् ।

बागमती प्रदेशमा संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध प्रदेश निर्माणको साझा उद्देश्य प्राप्त गर्ने आधारसहित नेकपा, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिच समझदारी गर्ने प्रस्ताव मस्यौदामा गरिएको छ ।

मस्यौदाको पहिलो बुँदामा नेपालको संविधान २०७२ ले अंगीकार गरेको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता लगायतका मूल मान्यतालाई अवलम्बन गर्दै समृद्ध बागमती प्रदेश निर्माणमा साझा प्रतिबद्धता व्यक्त गर्ने उल्लेख छ ।

सरकार गठनका सम्बन्धमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा हाल कायम ८ मन्त्रालयभन्दा नबढ्ने गरी मन्त्रालय बाँडफाँट गर्ने प्रस्ताव गरिएको छ । प्रदेश सभाको रिक्त सभामुख पद नेकपाबाट निर्वाचित गर्ने विषय पनि मस्यौदामा समेटिएको छ ।

प्रदेश सरकार सञ्चालनसम्बन्धी न्यूनतम साझा कार्यक्रम तयार गरी ३ दिनभित्र सार्वजनिक गर्ने प्रस्ताव गरिएको छ । त्यसका लागि आवश्यक समिति गठन गर्ने र समितिको सिफारिस कार्यान्वयन गर्न प्रदेश सरकारले शीघ्र प्रक्रिया अघि बढाउने उल्लेख छ ।

मस्यौदामा नेकपाको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गर्ने प्रस्तावसमेत गरिएको छ । संयन्त्रले सरकार सञ्चालनका विषयमा आवश्यक सल्लाह, सुझाव तथा समन्वय प्रदान गर्ने भनिएको छ ।

त्यसैगरी, मन्त्रिपरिषद्मा सम्मानजनक महिला सहभागिता अनिवार्य गर्ने र मन्त्रालयको मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपालाई राख्ने प्रस्ताव गरिएको छ ।

बागमती प्रदेश सरकार सञ्चालन तथा साझेदारीसम्बन्धी समझदारीको मस्यौदामा समेटिएका यी विषय सत्ता साझेदार ३ दलबिच सहमतिको आधारका रूपमा अघि सारिएको बताइएको छ ।