काठमाण्डु – ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा काठमाण्डुमा १ व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार मंगलबार बिहान करिब ९:३० बजे काठमाण्डु महानगरपालिका–१० बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा रहेको आकाशे पुलमुनि पिकआवर ड्युटीमा खटिएका प्रहरी कर्मचारीले पैदलयात्रीलाई आकाशे पुलबाट बाटो काट्न सम्झाइबुझाइ गरेका थिए ।
प्रहरीका अनुसार सम्झाएको निर्देशन अटेर गरी उल्टै प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाण्डु महानगरपालिका–३१ बस्ने २७ वर्षीय राज कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कठायतविरुद्ध राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने तथा अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट ५ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त नयाँ बानेश्वरबाट भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले जानकारी दिए ।





प्रतिक्रिया