काठमाण्डु – बंगलादेशले चीनसँग अत्याधुनिक लडाकु विमान र हेलिकोप्टर खरिद गर्ने भएको छ ।
चिनियाँ जे-१०सीई लडाकु विमान र आक्रमणकारी हेलिकोप्टर खरिद गर्ने सम्भावित सम्झौताका लागि बंगलादेशले चीनसँग औपचारिक वार्ता अघि बढाएको छ ।
यसका लागि सरकारी समितिले सम्झौताको मस्यौदा तयार गरिरहेको प्रधानमन्त्रीका सूचना तथा प्रसारण सल्लाहकार जाहेद उर रहमानले जनकारी दिएका छन् ।
प्रस्तावित खरिद पछिल्ला वर्षहरूमा बंगलादेशको सबैभन्दा ठूलो रक्षा खरिदमध्ये एक हुने र ढाकाको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता चीनसँगको सैन्य सम्बन्ध अझ गहिरो बनाउने अपेक्षा गरिएको छ ।
सन् २०२५ को मेमा दुई परमाणु हतियारसम्पन्न छिमेकीबीच भएको झडपका क्रममा जे-१०सीई विमान प्रयोग गरेर भारतीय लडाकु विमान खसालिएको पाकिस्तानले दाबी गरेपछि यो विमानले विश्वव्यापी ध्यान आकर्षित गरेको थियो । यद्यपि, उक्त दाबी विवादित नै छ ।
बंगलादेशी प्रधानमन्त्रीका सूचना तथा प्रसारण सल्लाहकार रहमानले आफ्नो छिमेकी क्षेत्रमा भएको उक्त द्वन्द्वका क्रममा चिनियाँ विमानको प्रदर्शन राम्रो रहेको भन्ने विवरणलाई ढाकाले ध्यानमा राखेको बताएका छन् ।
बंगलादेश आफ्नो वायुसेनालाई आधुनिकीकरण गर्ने प्रयासमा छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बंगलादेशले २४ वटासम्म जे–१०सीई विमान खरिद गर्ने विषयमा विचार गरिरहेको छ ।
हालसम्म पाकिस्तान मात्रै यस लडाकु विमानको निर्यात संस्करण प्रयोग गर्ने पुष्टि भएको विदेशी मुलुक हो । ढाकाले कति वटा विमान खरिद गर्ने, सम्झौताको कुल मूल्य कति हुने वा कहिलेसम्म विमान आपूर्ति गरिने भन्नेबारे रहमानले खुलाएनन् । उनले यी विवरण वार्तामार्फत तय हुने बताए ।
पछिल्ला दुई दशकमा चीनले बंगलादेशलाई नौसैनिक जहाज, लडाकु विमान, ट्यांक तथा क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउँदै आएको छ, जसका कारण चीन बंगलादेशको सबैभन्दा ठूलो सैन्य सामग्री आपूर्तिकर्ता बनेको छ ।




प्रतिक्रिया