भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा सतर्कता अपनाउन रास्वपाको अपिल

भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा सतर्कता अपनाउन रास्वपाको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटको तटीय क्षेत्रमा पुगेको क्षति तथा यसको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्र उच्च जोखिममा रहेकाले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकार, स्थानीय प्रशासन र आम नागरिकलाई विशेष ध्यान दिन आग्रह गरेका हुन्।

रास्वपाले बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाह तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। जोखिमपूर्ण तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि आग्रह गरेको छ।

‘त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्रहरू यतिबेला उच्च जोखिममा रहेकाले सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न हामी सरकार, स्थानीय प्रशासन र आम नागरिकमा विशेष आह्वान गर्दछौं।’ विज्ञप्तिमा लेखिएको छ ।

नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित र उच्च स्थानमा सर्न अपिल गर्दै रास्वपाले अवस्था सामान्य नभएसम्म अत्यावश्यक कामबाहेक नदी तटीय सडकमा यात्रा नगर्न अनुरोध गरेको छ।

आपत्कालीन अवस्था सिर्जना भएमा नेपाल प्रहरीको टोल–फ्री नम्बर १०० तथा आपत्कालीन नम्बर १२३४ मा सम्पर्क गर्न पनि रास्वपाले आग्रह गरेको छ।

त्यस्तै, जोखिममा परेका नागरिकको उद्धार तथा पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सक्रिय रूपमा खटिन पार्टीका सम्पूर्ण सदस्यलाई महामन्त्री आचार्यले निर्देशन दिएका छन्।