बाढी प्रभावितलाई प्रधानमन्त्री बालेनको सान्त्वना : तपाईंहरू एक्लो हुनुहुन्न

बाढी प्रभावितलाई प्रधानमन्त्री बालेनको सान्त्वना : तपाईंहरू एक्लो हुनुहुन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै सरकार उद्धार, उपचार, खोज तथा राहत कार्यमा सम्पूर्ण शक्ति र संयन्त्र परिचालन गरेर अघि बढिरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले बाढीमा परी हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको दु:खद खबर प्राप्त भएको उल्लेख गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस कठिन घडीमा सरकार र सम्पूर्ण देशवासी प्रभावित परिवारको साथमा रहेको बताएका छन् ।

प्रधानमन्त्री शाहका अनुसार बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद्को बैठक तथा मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउने सम्बन्धमा आवश्यक निर्णय गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीलाई प्रभावित क्षेत्रमा तत्काल परिचालन गरिएको उनले जानकारी दिएका छन् ।

उनले नेपाली सेनाका हेलिकोप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र उद्धार गरिएकामध्ये घाइतेलाई तत्काल काठमाण्डु ल्याएर उपचार सुरु गरिएको बताएका छन् । बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार र प्रभावित नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको उनको भनाइ छ ।

घाइतेहरूको सहज र नि:शुल्क उपचारका लागि काठमाण्डुको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको तथा उपत्यकाका अन्य ठूला अस्पताललाई समेत उपचारका लागि तयारी अवस्थामा राखिएको प्रधानमन्त्री शाहले बताए । प्रभावित क्षेत्रमा मेडिकल टोली खटाएर प्राथमिक उपचार तथा उद्धारको काम भइरहेको र विभिन्न सुरक्षा निकायका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गरिएको उनले उल्लेख गरेका छन् ।

त्यसैगरी नेपाल स्काउट, विश्व स्वास्थ्य संगठन लगायतका निकायबाट चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको र आपतकालीन स्वास्थ्य सेवा, औषधि तथा रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटसँग निरन्तर समन्वय भइरहेको उनले बताए ।

प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग परामर्श गरी स्थानीय तहमा आवश्यक सहयोग पुर्‍याउने कार्य भइरहेको तथा घाइतेहरूको थप विवरण संकलन जारी रहेको जानकारी दिए । रातभर पनि उद्धार कार्य जारी रहने उनले बताए ।

उनका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । ती क्षेत्रका पीडित परिवारसम्म खानेकुरा, स्वच्छ खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याइने उनले बताएका छन् ।

बाढीबाट क्षति भएका सडक, पुल, विद्युत् तथा खानेपानी आयोजनाको प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवन सामान्य अवस्थामा फर्काउने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुन:स्थापना गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री शाहले व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले विपद्बाट प्रभावित नागरिकलाई आफूहरू एक्लो नभएको विश्वास दिलाउँदै राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतसहित उनीहरूको साथमा रहेको बताए । राहत तथा उद्धार अभियानमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न उनले आग्रह गरेका छन् ।