भोटेकोशी बाढीपीडितका लागि सहयोग गर्न प्रधानमन्त्री कार्यालयको अपिल

भोटेकोशी बाढीपीडितका लागि सहयोग गर्न प्रधानमन्त्री कार्यालयको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुन:स्थापनाका लागि आर्थिक सहयोग गर्न सर्वसाधारणमा अपिल गरेको छ ।

कार्यालयका अनुसार बुधबार बिहान ८:४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित बनेका छन् । बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कार्यलाई तीव्रता दिएको जनाएको छ ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने काम जारी रहेको कार्यालयले जनाएको छ ।

सरकारले विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुन:स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएको छ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिन सबैमा आग्रह गरिएको छ ।

कार्यालयले सामाजिक सञ्जालमार्फत जारी गरेको अपिलमा उल्लेखित बैंक खातामा आफ्नो क्षमताअनुसार सहयोग गर्न अनुरोध गरिएको छ ।