काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
चीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र नवलपरासी लगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै रास्वपाले दु:ख व्यक्त गरेको छ ।
विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
रास्वपाको पार्टी सचिवालय बैठकले विपद् प्रभावित क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी नागरिकको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । प्रभावितका लागि सुरक्षित बासस्थान, शुद्ध पिउने पानी, औषधि र खाद्यान्नलगायत अत्यावश्यक राहत सामग्री तत्काल उपलब्ध गराउनुपर्नेमा पार्टीले जोड दिएको छ ।
राहत तथा सहयोग वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन सरकारले अवलम्बन गरेको एकद्वार प्रणालीमार्फत मात्र आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउन रास्वपाले सम्बन्धित सबैलाई अनुरोध गरेको छ । जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र मानवीय सहयोग जुटाउन पनि पार्टीले आम नागरिकमा अपिल गरेको छ ।
रास्वपाले आफ्ना केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका समिति, सदस्य र शुभेच्छुकलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार र राहत कार्यमा सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको छ । पार्टीको राहत तथा उद्धारसम्बन्धी परिचालनको संयोजनको जिम्मेवारी पूर्वर्याट संयोजक आशिष थापालाई दिइएको छ ।
विपद्का बेला फैलिन सक्ने अफवाह र भ्रामक सूचनाप्रति सचेत रहन आग्रह गर्दै रास्वपाले सरकारी आधिकारिक निकायबाट जारी सूचनालाई मात्र आधार मान्न र सामाजिक सञ्जालमा तथ्यपरक सामग्री सम्प्रेषण गर्न अनुरोध गरेको छ । नदी तटीय तथा पहिरोको उच्च जोखिममा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन पनि पार्टीले आग्रह गरेको छ ।
त्यसैगरी बेपत्ता नागरिकको खोज तथा उद्धार कार्य तीव्र बनाउन, सम्भावित महामारी नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेषज्ञ स्वास्थ्य टोली परिचालन गर्न रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ । विपद्का कारण घरबारविहीन भएका परिवारलाई उचित क्षतिपूर्ति दिई सम्मानजनक र दीर्घकालीन पुन:स्थापनाका लागि ठोस कार्ययोजना तत्काल सुरु गर्न पनि पार्टीले माग गरेको छ ।
विपद् व्यवस्थापन, उद्धार र राहत कार्यमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्ने भन्दै रास्वपाले आफ्ना पूर्वनिर्धारित आधिकारिक, राजनीतिक तथा सांगठनिक गतिविधि अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णयसमेत गरेको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सरकारले देखाएको तदारुकताको स्वागत गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि सरकार, राजनीतिक दल, नागरिक समाज, अन्तर्राष्ट्रिय निकाय र सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।




प्रतिक्रिया