भोटेकोशी बाढी : उद्धार जारी, १५७ शव फेला, ४१ घाइते उपचाररत

भोटेकोशी बाढी : उद्धार जारी, १५७ शव फेला, ४१ घाइते उपचाररत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा जोखिममा परेका नागरिकको बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी घाइते तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने निर्णय गरेको छ ।

उद्धार गरिएका घाइतेलाई प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिएको उपचार शिविरमा लगिनेछ। गम्भीर घाइतेलाई भने थप उपचारका लागि तत्काल काठमाण्डु ल्याउने तयारी गरिएको छ।

घाइतेको अवस्थाका आधारमा उद्धारको प्राथमिकता निर्धारण गरिने प्राधिकरणले जनाएको छ। यस्तै, बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै नुवाकोटको विदुर पठाउन थालिएको छ।

यसैबिच, नेपाली सेनाले पनि भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज रातभर पनि खोज तथा उद्धार जारी राख्ने जनाएको छ। प्रभावितको संख्या धेरै भएकाले उद्धारलाई रातभर निरन्तरता दिने सेनाले बताएको छ।

सेनाका अनुसार रातभर ११ वटा एक्स टिमले जमिनबाट उद्धार गर्नेछन्। बुधबार बिहान टिमुरेमाथि ठुलो संख्यामा रहेका प्रभावितको हवाई उद्धार गरिनेछ। विभिन्न टनेलमा अड्किएका व्यक्तिको उद्धारको प्रयास पनि जारी रहनेछ।

सेनाले हवाई साधनको प्रभावकारी परिचालन, राहत सामग्री वितरण तथा थप फौज परिचालन गरी खोज तथा उद्धारलाई तीव्र बनाउने जनाएको छ। अन्य सुरक्षा निकाय, सरोकारवाला संस्था र स्थानीयसँग समन्वय गरेर प्रभावितको उद्धार तथा राहत वितरणलाई निरन्तरता दिइने सेनाले बताएको छ।

यता, रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि १५७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले उपलब्ध गराएको जानकारी अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि तीन हजार ३१८ प्रहरी परिचालन गरिएको छ। ४१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। टिमुरे, रसुवागढी, स्याफ्रुबेसी, मैलुङ, बेत्रावती हाकुमा कार्यरत प्रहरीमध्ये केही सम्पर्कमा आएका छन् भने २८ जना अझै सम्पर्कविहीन छन्।

घाइतेको त्रिवि शिक्षण अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, ग्रान्ड सिटी, नर्भिक र त्रिशूली अस्पताललगायतमा उपचार भइरहेको छ।