काठमाण्डु – नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि अमेरिकाले ५ लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
अमेरिकी विदेश विभागले बुधबार सहयोग घोषणा गर्दै विपद् सहायता प्रतिक्रिया सल्लाहकारसमेत पठाउने जनाएको छ।
साथै, अमेरिकाले विपद् व्यवस्थापनसम्बन्धी एक ‘डिजास्टर असिस्टेन्स रेस्पोन्स एडभाइजर’लाई समेत प्रभावित क्षेत्रतर्फ पठाउने तयारी गरेको छ।
अमेरिकी विदेश विभागका अनुसार मानवीय सहायता क्याथोलिक राहत सेवामार्फत उपलब्ध गराइनेछ। उक्त सहयोग बाढी प्रभावित समुदायलाई आपत्कालीन आश्रय, राहत सामग्री तथा पानी, सरसफाइ र स्वच्छता सेवाका लागि प्रयोग गरिनेछ।
विपद् सहायता प्रतिक्रिया सल्लाहकार कहाँ पठाइने हो भन्नेबारे विदेश विभागले स्पष्ट पारेको छैन। प्राकृतिक विपद्का बेला अमेरिकाले प्रभावित क्षेत्रमा सहयोग गर्न विशेषज्ञ टोली पठाउने गरेको छ।
अमेरिकी विदेश विभागले काठमाण्डुस्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको खोजी तथा सहयोगका लागि स्थानीय अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ।
यसअघि विदेश विभागका प्रवक्ताले नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकबारे आफूहरू जानकार रहेको बताएका थिए। तर उनीहरूको संख्या र अवस्थाबारे विस्तृत जानकारी दिइएको थिएन।
नेपाल पर्यटन बोर्डका अधिकारीका अनुसार नेपालमा कम्तीमा ४७ अमेरिकी नागरिक बेपत्ता छन्। बाढी तथा पहिरोका कारण नेपालमा सयौं मानिस बेपत्ता भएको अनुमान गरिएको छ। बेपत्ता हुनेमा ३४१ विदेशी नागरिकसमेत रहेको बताइएको छ।




प्रतिक्रिया