काठमाण्डु– नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले रसुवाको ग्यिरोङ–रसुवागढी सीमावर्ती क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोको प्रारम्भिक कारणबारे जानकारी दिँदै नेपाली भूमिमा गएको भूकम्पपछि हिमपहिरो गएको बताएका छन्।
दूतावासले बिहीबार सूचना जारी गर्दै हिमताल भत्किएपछि ठुलो मात्रामा पहिरो गएको त्यसपछि बाढी आएको जनाएको हो।
एनटीभी वर्ल्डसँगको कुराकानीमा राजदूत झाङले भूकम्पपछि आएको हिमपहिरो र पहिरोका कारण नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति भएको तथा केही मानिस बेपत्ता भएको जानकारी दिएको दूतावासले लेखेको छ ।
उनले विपत्तिप्रति चीन गहिरो दुःखी रहेको भन्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। कठिन समयमा चीन नेपालसँगै रहेको बताउँदै उनले आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको ।
राजदूत झाङका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले विपत्तिलाई गम्भीरतापूर्वक लिँदै बेपत्ताको खोजी तथा उद्धार, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण, घाइतेको तत्काल उपचार र मानवीय क्षति न्यूनीकरणलाई पहिलो प्राथमिकता दिन निर्देशन दिएका छन्।
विपत्तिपछि नेपालस्थित चिनियाँ दूतावासले आपत्कालीन प्रतिक्रिया संयन्त्र सक्रिय गर्दै प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा व्यवसायको अवस्थाबारे जानकारी लिएको उनले बताए। दूतावासले घटनास्थलमा कार्यदल पठाएर उद्धार तथा राहत कार्यमा समन्वय गरिरहेको पनि उनले जानकारी दिए।
चिनियाँ पक्षले आफ्नै भूभागमा समेत ठूलो क्षति भए पनि नेपाललाई आपत्कालीन राहत सामग्री र नगद सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएको राजदूत झाङले बताए।
उनका अनुसार चीनका उपप्रधानमन्त्री झाङ गुओछिङ सम्बन्धित अधिकारीसहित तिब्बत पुगेर उद्धार तथा विपद् व्यवस्थापन कार्यको नेतृत्व गरिरहेका छन्। चीनका परराष्ट्र, जलस्रोत, मौसम विज्ञान तथा आपत्कालीन व्यवस्थापनसम्बन्धी निकायले नेपाली समकक्षीसँग समन्वय गरिरहेको उनले बताए।
भविष्यमा यस्ता विपत्तिको प्रभाव न्यूनीकरण गर्न नेपाल र चीनबीच सूचना आदानप्रदान, मौसम तथा जलविज्ञानसम्बन्धी अनुगमन र पूर्वसूचना प्रणाली, संयुक्त उद्धार संयन्त्र, प्राविधिक आदानप्रदान तथा आपत्कालीन राहत सामग्रीको व्यवस्थापन थप सुदृढ गर्नुपर्नेमा उनले जोड दिए।
राजदूत झाङले विपत्तिको सामना गर्न नेपाली सरकार तथा सम्बन्धित निकायले गरेको प्रयास र नेपाली जनताले देखाएको धैर्य तथा साहसको समेत प्रशंसा गरेका छन्।




प्रतिक्रिया