काठमाण्डु–नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक विपत्तिको सामना गर्न सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बिहीबार बिहान बसेको सर्वदलीय बैठकमा धारणा राख्दै प्रचण्डले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर खोजी, उद्धार र राहतमा जुट्नुपर्ने बताए ।
उनले अहिले नेपालले सामना गरिरहेको विपत्ति सामान्य प्राकृतिक विपत्ति मात्र नभएको बताए । पछिल्ला घटनाको प्रकृति, तीव्रता र प्रभाव जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम तथा बदलिँदो प्राकृतिक अवस्थासँग जोडिएका गम्भीर संकेत भएको उनको भनाइ छ ।
प्रचण्डले तत्काल मानिसको जीवन बचाउनु पहिलो दायित्व रहेको भन्दै खोजी, उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि सरकार, राजनीतिक दल र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे ।
विपत्तिको जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन छिमेकी मुलुकसँग तत्काल समन्वय गर्नुपर्नेमा पनि उनले जोड दिए । विशेष गरी हिमाली क्षेत्रमा विपत्तिको जोखिम र पूर्वसूचना प्रणाली बलियो बनाउन नेपालले छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।
प्रचण्डले जलवायु परिवर्तनको असर भोगिरहेका हिमाली मुलुकका लागि जलवायु न्याय, क्षतिपूर्ति र अन्तर्राष्ट्रिय सहयोगको विषयलाई पनि सशक्त रूपमा उठाउनुपर्ने बताए ।
विपत्तिका बेला राजनीतिक मतभेदलाई केही समय थाती राखेर राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले विगतका कोशी बाढी, जुरे पहिरो, २०७२ सालको भूकम्प र जाजरकोट भूकम्पमा नेपाली समाज तथा राजनीतिक शक्तिले एकताबद्ध भएर सामना गरेको स्मरण गरे ।
अहिले देश एउटा गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको छ । यस्तो अवस्थामा लामो बहस वा राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिने होइन, सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर खोजी, उद्दार, राहतमा जुट्ने समय हो । विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ । कोशी बाढी, सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको भूकम्प र जाजरकोट भूकम्पलगायतका विपत्तिमा नेपाली समाज र राजनीतिक शक्तिहरूले संकटका बेला एकताबद्ध भएर सामना गरेको इतिहास छ’, उनले भने, ‘आज पनि देशमा राजनीतिक मतभेद र विमति छन् । लोकतन्त्रमा ती स्वाभाविक हुन् । तर विपत्तिका बेला ती मतभेदलाई केही समय थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिनुपर्छ ।’
रसुवाको भोटेकोशी बाढीबाट सिर्जित संकटमा आफ्नो पार्टीको सरकारलाई पूर्ण साथ र सहयोग रहने बताउँदै प्रचण्डले पार्टीका नेता–कार्यकर्तालाई उद्धार, राहत तथा सहयोगका काममा सरकारी निकायसँग समन्वय गरेर परिचालित हुन निर्देशन दिइसकेको जानकारी दिए ।
‘आज हामी सबैले एउटा साझा संकल्प गर्नुपर्छ—विपत्तिमा कोही एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कुनै नागरिक बाहिर नपरोस्,’ प्रचण्डले भने ।
प्रचण्डले भोटेकोशी बाढीले सिर्जना गरेको गम्भीर संकटमा जुध्न सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।
‘हाम्रो पार्टीले हिजै बैठक बसेर यस विषयमा आवश्यक निर्णय गरिसकेको छ र पार्टीको पंक्तिलाई उद्धार, राहत तथा सहयोगका काममा सरकारी निकाय संग समन्वय गरेर परिचालित हुन निर्देशन दिइसकेको छ’,उनले भने ।
प्रचण्डले विपदको सामना गर्न सर्वदलीय बैठक बोलाएर पहल लिएको भन्दै रास्वपा सभापति लामिछानेको प्रशंसा गरे ।




प्रतिक्रिया