काठमाण्डु – बुधबार नेपालको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै भारत सरकारका विभिन्न निकायले तयारी तीव्र पारेका छन् ।
नेपाल–भारत सीमासँग जोडिएका जिल्लाहरूमा सयौँ डुंगा परिचालन गरिएको छ भने उत्तर प्रदेशमा ११ वटा उद्धार टोली र बिहारमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ)का ९ वटा टोली परिचालन गरिएको छ ।
यसका साथै सुरक्षा तथा निगरानी सुनिश्चित गर्न गाउँका होचा तथा डुबानको जोखिम भएका क्षेत्रमा प्रहरी चौकीहरू स्थापना गरिएको छ ।
बिहारका विपद् व्यवस्थापनमन्त्री रत्नेश सदाले राज्य सरकारले बाडीबाट जोगिन सबै तयारी पूरा गरेको बताए । उनले भने, ‘हामी बाढीजस्तो देखिने सबै परिस्थितिका लागि तयार छौँ । मुख्यमन्त्रीले भागलपुर, बेगुसराय, छपरा, मुंगेरलगायत आसपासका क्षेत्रको हवाई निरीक्षण गर्नुभएको छ ।’
नेपालका नदीहरूमा आएको बाढीका कारण बिहारको जलस्रोत विभागले वाल्मीकिनगरस्थित गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलेको छ । साथै, गण्डक नदी बेसिनमा पर्ने सबै जिल्लालाई सतर्क रहन सूचना जारी गरिएको छ ।
सम्भावित बाढीको सामना गर्न आवश्यक सामग्री भण्डारण तथा तटबन्धहरूको निरन्तर निरीक्षणको समेत व्यवस्था गरिएको छ ।
राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) र राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) का टोली सम्भावित प्रभावित क्षेत्रमा परिचालन गरिँदै छन् ।
उत्तर प्रदेशमा पनि उच्च सतर्कता
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले महाराजगन्ज र कुशीनगरको स्थानीय प्रशासनलाई आवश्यक सबै तयारी सुनिश्चित गर्न निर्देशन दिएका छन् । नेपालमा आएको बाढीका कारण महाराजगन्ज र कुशीनगरमा गण्डक तथा नारायणी नदीको जलस्तर बढ्न सक्ने सम्भावना छ ।
सीमावर्ती क्षेत्रमा एनडीआरएफका टोली
एनडीआरएफले जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय जल आयोग (सीडब्लूसी) को सूचनाका आधारमा नेपालमा भारतीय सीमाबाट करिब १६० किलोमिटर टाढा पर्ने फुर्के खोला क्षेत्रमा त्रिशूली नदीको जलस्तर अचानक बढेको जानकारी प्राप्त भएको छ । नेपाल–चीन सीमाना नजिक हिमताल फुटेर आएको बाढी (जीएलओएफ) का कारण यस्तो भएको आशंका गरिएको छ ।
बाढीको लहर गण्डक नदी हुँदै तल्लो तटीय क्षेत्रमा पुग्ने सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ । नेपाल–भारत सीमामा गण्डक नदी आसपास पर्ने बिहार र उत्तर प्रदेशका स्थानीय प्रशासनलाई सतर्क रहन तथा अवस्थाको नजिकबाट निगरानी गर्न आग्रह गरिएको छ ।
गण्डक नदी आसपासको अवस्थाको मूल्यांकन गरेपछि पश्चिम चम्पारण र मुजफ्फरपुरमा परिचालन गर्न दुई एनडीआरएफ टोली पठाइएको छ ।
बिहारमा हाल एनडीआरएफका ९ वटा टोली परिचालन गरिएको छ भने आवश्यकता अनुसार थप टोली परिचालन गरिने जनाइएको छ । उत्तर प्रदेश सरकारले पनि अवस्थाको नजिकबाट निगरानी गरिरहेको छ ।




प्रतिक्रिया