काठमाण्डु – रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार तथा उपचारका लागि नेपाल भेटेरिनरी एसोसिएसनले हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।
एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार प्रभावित पशुपालक कृषकहरूले हटलाइन ११५९ मा सम्पर्क गरी पशुपन्छीको स्वास्थ्य अवस्था, उपचार तथा उद्धारसम्बन्धी आवश्यक प्राविधिक परामर्श लिन सक्नेछन् ।
हटलाइनमा प्राप्त सूचनाका आधारमा फिल्डमा खटिएका पशु चिकित्सक तथा उद्धार एवं उपचार टोलीसँग समन्वय गरी आवश्यकताअनुसार द्रूत रूपमा टोली परिचालन गरिनेछ ।
बिहीबार बिहान मात्रै एसोसिएसनले डा. प्रवेश शर्मा, डा. निशान्त शर्मा गेलाल, डा. सुदीप रेग्मी, डा. दिनेश अर्याल र डा. केशव खरेल सम्मिलित पशु चिकित्सक टोलीलाई बाढीबाट प्रभावित क्षेत्रमा खटाएको छ ।
बाढीपछि विभिन्न संक्रामक रोग तथा महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै एसोसिएसनले रोग निगरानी तथा रोकथामका लागि पशु सेवा विभाग लगायतका सरकारी निकायसँग समन्वय गरिरहेको जनाएको छ ।
सम्पर्क तथा सहजीकरणका लागि नि:शुल्क हटलाइन ११५९, डा. शंकर न्यौपाने (महासचिव) ९८४५४४०४०४, डा. विशाल पोखरेल (सचिव) ९८४३३९७५८७, डा. दिनेश अर्याल (केन्द्रीय सदस्य) ९८४००१७०७६ नम्बर सार्वजनिक गरिएको छ ।




प्रतिक्रिया