काठमाण्डु– भोटेकोसी नदीमा बुधबार बिहान आएको बाढीले त्रिशुली खोलामाथिका सबै पुल बगाउँदा नुवाकोटको पश्चिमी क्षेत्रको सदरमुकामसँग सम्पर्क विच्छेद भएको छ ।
बाढीले पुल बगाउँदा त्रिशुली पारिका क्षेत्रको सदरमुकाम विदुरसहित अन्य क्षेत्रसँग पूर्ण रुपमा सडक सम्पर्क टुटेको छ ।
बेत्रावती, भैंसे, दुई नम्बर पुल, त्रशुली, सिमुटार, देवीघाट, रातमाटेसहित स्थानमा रहेका पक्की पुल बाढीले बगाएको छ ।
यस्तै तारुका घाटमा रहेको झोलुंगे पुल पनि भाँचिएको छ ।
पुल नहुँदा तारुका, बुधसिंह, गोस्र्याङ, दाङसिङ, खड्गभञ्ज्याङ, चारघरे, कोलोनी, कल्याणपुर, तुप्चे, मनकामना, सामरी, देउराली, काउले, भाल्चे, साल्मे, किम्ताङ, बुम्ताङ र बर्सुन्चेत क्षेत्रको सदरमुकामसँगको सम्पर्क पूर्ण रुपमा टुटेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरीले जानकारी दिए । ठकुरीका अनुसार ती क्षेत्रबाट आउजाउ पूर्ण रुपमा बन्द छ । मानिसका लागि खाद्यान्न, औषधि र पशु–चौपायाका लागि दानाको अभाव सुरु भएको उनले बताए ।
ठकुरीका अनुसार ती क्षेत्रलाई सदरमुकासँग जोड्न सक्ने तत्काल कुनै विकल्प छैन ।
‘धेरै ठूलो जनसंख्या भएको क्षेत्रको सदरमुकामसँगको सम्बन्ध विच्छेद भएको छ । पुलबाहेक ती क्षेत्रलाई जोड्ने अर्को विकल्प छैन । तत्काल पुन बन्ने कुरा कल्पना मात्र हो’, ठकुरीले भने, ‘ती ठाउँ कर्णालीभन्दा विकट भएका छन् ।’
उनका अनुसार ती ठाउँबाट आउजाउ गर्ने विकल्प हेलिकप्टर मात्र भएको छ । बाढीपछि सयौंको संख्यामा शित्रुली वारिका मानिस पारि र पारिका वारि रोकिएको उनले बताए ।
त्यस्तो संख्या करिब १ हजारभन्दा बढी रहेको उनको भनाइ छ ।




प्रतिक्रिया