काठमाण्डु – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्णरूपमा क्षतिग्रस्त भएको हो ।
गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक समेत बाढीका कारण बन्द अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
बाढीका कारण ४१ वटा पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । सरकारले ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज उपलब्ध गराएको छ । आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । भारत र चीन सरकारबाट समेत आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ ।
सरकारले पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाएको छ । त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ । वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ ।
सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारीतर्फबाट उपलब्ध गराइएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ । क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया