काठमाण्डु – त्रिशूली नदीमा पुनः बाढी आउन सक्ने सूचना चीनबाट प्राप्त भएपछि धादिङमा उच्च सतर्कता अपनाइएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमको अध्यक्षतामा बिहीबार राति आपत्कालीन सुरक्षा बैठक बसेर बाढीको जोखिम र सम्भावित क्षतिबारे छलफल गरिएको छ ।
बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले त्रिशूली नदीको तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नदीको जलसतह बढ्न थालेमा तत्काल सुरक्षित स्थानतर्फ सर्न र नदी किनारमा नजानसमेत प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनले स्थानीय सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई सम्भावित विपद्को अवस्थाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
बाढीपछि धादिङको रुबीभ्याली गाउँपालिकाका १५ जना स्थानीय अझै सम्पर्कविहीन रहेका छन्। रुबीभ्याली गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ का वडा कार्यालयहरूले छुट्टाछुट्टै सूचना जारी गर्दै रोजगारी, व्यापार, अध्यापन तथा पारिवारिक भेटघाटका लागि रसुवाको टिमुरेलगायत क्षेत्रमा पुगेका आफ्ना नागरिकहरू सम्पर्कमा नरहेको जानकारी दिएका छन्।




प्रतिक्रिया