काठमाण्डु – एमालेका महासचिव शंकर पोखरेलले बाढीग्रस्त क्षेत्रमा सरकारी निकायबीच समन्वयको अभाव देखिएको दाबी गरेका छन् ।
बिहीबार विपदग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेका महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा त्यस क्षेत्रमा तत्काल थप वैकल्पिक योजना आवश्यक रहेको सुझाएका छन् ।
‘सरकारले उद्धारको काम गरिरहेको छ । नुवाकोटलाई बेसक्याम्प बनाएर सेनाको नेतृत्वमा हवाई उद्धारको काम भइरहेको छ, यो सकारात्मक छ । तर, जमिनको यथार्थ स्थिति र सरकारी संयन्त्रबिच ठुलो खाडल देखिएको छ’, महासचिव पोखरेलले लेखेका छन् ।
सुरक्षा निकायहरूबिच आपसी समन्वय र सहकार्य नदेखिएको, गृह मन्त्रालय र जिल्ला प्रशासनले राहत र उद्धारको प्रभावकारी कमान्ड सम्हाल्न नसकेको आफूले स्थलगत अवलोकनका क्रममा अनुभूति गरेको पनि उनले लेखेका छन् ।
‘नेपाली सेनासँग स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको सहज पहुँच स्थापित हुन सकेको देखिँदैन’, पोखरेलले लेखेका छन्, ‘त्रिशूली पारिको क्षेत्रमा पुग्ने लाइफलाइन पूर्णतः विच्छेद भएको छ र अहिलेसम्म जोड्न सकिएको छैन । जसका कारण ती क्षेत्रहरूमा स्वयंसेवक र राहत सामग्री पुग्न सकेका छैनन् ।’ पोखरेलले सरकारलाई तत्काल पाँच वैकल्पिक उपाय अवलम्बन गरेर उद्धार, राहत र पुनर्स्थापना अघि बढाउन सुझाव दिँदै तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूलाई समेटेर एकीकृत कमान्ड पोस्ट तुरुन्त निर्माण गर्नुपर्ने बताएका छन् ।





प्रतिक्रिया