काठमाण्डु – फेरि अर्को बाढी आउन सक्ने जोखिमका कारण चीनले शुक्रबार तिब्बत–नेपाल सीमाक्षेत्रमा जारी उद्धार अभियान स्थगित गरेको छ ।
समाचार संस्था अल जजिराका अनुसार भरिन लागेको तालका कारण अर्को पटक आकस्मिक बाढी आउन सक्ने जोखिम देखिएपछि अधिकारीहरूले उद्धार अभियान स्थगित गरी उद्धार टोलीहरूलाई फिर्ता हुन निर्देशन दिएका छन् ।
सबै उद्धार टोलीलाई आफू रहेको स्थानमै तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको छ । यसअघि प्रभावित क्षेत्रमा प्रवेश गरेका उद्धारकर्मीहरूलाई पनि एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको छ ।
अल जजिराका अनुसार बुधबार आएको आकस्मिक बाढीपछि भोटेकोसी नदीमा पानी थुनिएर बनेको ताल (ब्यारियर लेक) बनेको र त्यसबाट पानी ओभरफ्लो हुन थालिसकेको भन्दै चीनले बिहीबार चेतावनी दिएको थियो । उक्त ताल फुटेमा आगामी ७२ घण्टाभित्र अर्को बाढी आउन सक्ने चीनले चेतावनी दिएको थियो ।
बुधबार तिब्बतबाट उर्लिएको भोटेकोसी नदी नेपालको सीमावर्ती जिल्ला रसुवामा प्रवेश गर्दा दर्जनौँ भवन, पुल तथा तटबन्ध बगाउँदै तीव्र गतिमा तलतर्फ बगेको थियो । त्यसले नदी किनारका गाउँ तथा बजारहरूमा हिलो र भग्नावशेष थुपारेको छ ।
चिनियाँ अधिकारीहरूका साथै स्वतन्त्र रूपमा गरिएको भूउपग्रह विश्लेषणले पनि उक्त भग्नावशेषका कारण नदी केही स्थानमा थुनिएर पानी जमेको र ब्यारियर लेक बनेको चेतावनी दिएका छन् ।
ब्यारियर लेक भनेको प्राकृतिक अवरोधका कारण नदी थुनिएर पानी जम्मा भई बन्ने ताल हो । भोटेकोसीको हकमा बुधबार आएको ठूलो बाढीपछि हिलो र भग्नावशेषले नदीको प्राकृतिक बहाव थुनेपछि यस्तो ताल बनेको देखिन्छ ।
चीनले बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी थपिन सक्ने जनाएको छ । बिहीबार बिहानै पानी ओभरफ्लो हुन थालेकाले शनिबारसम्म बाढी आउने सम्भावना ‘उच्च’ रहेको चीनले जनाएको थियो ।
अन्तरिक्ष तथा भूउपग्रह विश्लेषण गर्ने सुहोरा टेक्नोलोजिजले नेपालको उच्च हिमाली क्षेत्रमा पर्ने ल्हेन्दे खोलाको क्षेत्रमा बनेको उक्त ताल करिब २०.२५ हेक्टर क्षेत्रफलमा फैलिएको जनाएको छ ।




प्रतिक्रिया