विदुर– तिब्बतस्थित ल्हेन्दे खोलाको माथिल्लो भागमा हिमपहिरोपछि बनेको कृत्रिम ताल फुटेर पानी बग्न थालेको सूचनापछि नदी तटीय क्षेत्रका बासिन्दाले घर छाडेका छन् ।
स्थानीय प्रशासनले सामाजिक सञ्जालमार्फत र प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन भनेपछि सर्वसाधारण घर छाडेर सुरक्षित स्थानतर्फ लागेका हुन् ।
नुवाकोट सदरमुकाम विदुर, बट्टार, गौरीबेसी, इनारपाटी, रातमाटेलगायत त्रिशुली नदी आसपासका बासिन्दा घर छाडेर अग्लो स्थानतर्फ उक्लिएका छन् ।
विदुरका स्थानीय व्यवसायी अर्जुनप्रसाद भट्टले हजारौं मानिस घर छाडेर डाँडाकाँडा उक्लिएको बताए ।
तिब्बतको छोचेन खोला र नेपालको पुरेपु त्साङ्पो नदीको संगम आसपास बनेको ताल फुटेको जानकारी चिनियाँ पक्षले दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।
तिब्बततर्फबाट बगेर आउने छोचेन खोला र पुरेपु त्साङ्पो नदी भोटेकोशी हुँदै त्रिशूलीमा मिसिन्छ ।
यसअघि चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले बिहीबार हिम पहिरोका कारण बनेको तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको लेखेको थियो ।




प्रतिक्रिया