काठमाण्डु– गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ४ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपिल जारी गर्दै प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
मुख्यमन्त्री पाण्डेले विपद्को कठिन परिस्थितिमा गण्डकी प्रदेशका उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आ–आफ्नो ठाउँबाट राहत तथा उद्धार कार्यमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।
उनले विपद्को संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचार नगर्न पनि आग्रह गरेका छन्। आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचनामात्र सम्प्रेषण गर्न उनले सञ्चारमाध्यम तथा नागरिकलाई अपिल गरेका छन्।
सम्पर्कविहीन आफन्तको अवस्थाबारे स्वाभाविक रूपमा चिन्ता हुने भए पनि अहिलेको अवस्थामा संयम, धैर्य र आपसी सहयोग आवश्यक रहेको र विपद्मा परेका नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएकाले सबै एकजुट भएर विपद्को सामना गर्न र प्रभावितको साथमा उभिन आग्रह गरेका छन्।




प्रतिक्रिया