काठमाण्डु– भोटेकोसी बाढीमा बघेका ५३८ जना मृत फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म ९७७ जना अझै सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा २२१, नवलपरासी पूर्वमा १३४, गोरखामा ४६, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव भेटिएको छ।
बाढीमा परेर तीन दिनदेखि सम्पर्कविहीन रहेकामा सुरक्षा निकायका कर्मचारी पनि छन्। नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३ तथा भन्सार कार्यालयका एक र अध्यागमन कार्यालयका चार कर्मचारी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
त्यस्तै, रसुवाका १६१, मकवानपुरका ६६ र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।
नेपाल भ्रमणमा आएका ५१७ विदेशी नागरिक र विदेशमा बसोबास गर्ने नेपाल घुम्न आएका १२७ नेपाली नागरिक समेत तीन दिनदेखि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढीमा परी हालसम्म ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका तीन जना रहेका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उद्धारतर्फ पछिल्लो तीन दिनमा ३ हजार ७४२ जनाको उद्धार गरिएको छ। त्यस्तै, २५ जना विदेशी नागरिकको समेत उद्धार गरिएको छ। नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरबाट ७८ उडानमार्फत उद्धार कार्य गरिएको प्राधिकरणले जनाएको छ।





प्रतिक्रिया