एसिसी प्रिमियर कप आजदेखि, नेपालले पहिलो खेल भोलि बहराइनसँग खेल्ने

एसिसी प्रिमियर कप आजदेखि, नेपालले पहिलो खेल भोलि बहराइनसँग खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तेस्रो संस्करणको एसिसी प्रिमियर कप आइतबारदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ।

नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा परेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स ९युएई०, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।

समूह चरणमा नेपालले भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ। ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ। मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ। हालै भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो। प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको यो दोस्रो भेट हो। सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई छ विकेटले हराएको थियो।

नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ। नेपाल र साउदी अरेबियाबीच हालसम्म दुई खेलमा प्रतिस्पर्धा भएकामा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो। यस्तै, ५० ओभरको क्रिकेटमा नेपाल र हङकङबीच भएका चार खेलमध्ये नेपालले एक र हङकङले दुई खेल जितेका छन् भने एक खेल रद्द भएको थियो।

एसियन क्रिकेट काउन्सिल (एसिसी)का अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। यसपटक प्रिमियर कपको उपाधि विजेता टोलीले मात्र सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ।

गत संस्करणको टी–२० ढाँचाको प्रिमियर कपबाट भने तीन टोली एसिया कपका लागि छनोट भएका थिए। सन् २०२४ मा आयोजित उक्त प्रतियोगिताबाट युएई, ओमान र हङकङ एसिया कपमा छनोट भएका थिए भने नेपाल चौथो स्थानमा सीमित भएको थियो।

नेपालले पहिलो संस्करणको प्रिमियर कपको उपाधि जितेको थियो। सन् २०२३ मा घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो। यसपटक पनि नेपाली टोली उक्त सफलता दोहो¥याउने लक्ष्यमा छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य तथा क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले नेपाल उपाधिको बलियो दाबेदार रहेको बताएका छन्। विदेशी पिचमा खेल्नुपर्ने भएपनि प्रतियोगिताअघि पर्याप्त अभ्यासको अवसर पाएकाले नेपाली टोलीलाई फाइदा पुग्ने उनको भनाइ छ।

मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालले एक सय ७१ रनको सामान्य लक्ष्य दिए पनि २७ रनको जित निकालेको उदाहरण दिँदै चौधरीले नेपाली टोलीको बलिङ पक्ष बलियो रहेको बताए। उनका अनुसार प्रतियोगितामा नेपालको प्रमुख प्रतिस्पर्धी ओमान र युएई हुन्।