रसुवा बाढीमा ९ हजार ४३५ जनाको उद्धार, ७८१ शव फेला

रसुवा बाढीमा ९ हजार ४३५ जनाको उद्धार, ७८१ शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुन:स्थापनाको कार्य जारी रहेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गमार्फत उद्धार गरिएको छ ।

प्रधानमन्त्रीका अनुसार प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बाबजुद उद्धार कार्यलाई निरन्तरता दिइएको छ । राहत तथा उद्धारका लागि पछिल्लो १ दिनमा मात्रै थप ७२ उडानसहित हालसम्म ३९४ वटा उडान सञ्चालन गरिएको छ ।  प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जलविद्युत् आयोजना क्षेत्रमा फसेका नागरिकको उद्धारलाई समेत प्राथमिकता दिइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २७९ जनाको उद्धार गरिएको छ । रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको जनाइएको छ । सो क्षेत्रमा चिनियाँ र कोरियाली विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी राखेका छन् । चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोजी गरे पनि हालसम्म मानिस फेला पार्न नसकेको विवरणमा उल्लेख छ ।

नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा समेत उद्धार प्रयास जारी छ । नेपाली सेनाका इन्जिनीयरहरूले ‘ब्लास्टिङ’मार्फत उद्धारको काम अघि बढाइरहेका छन् । घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ ।

माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा भैरवनाथ गण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले उद्धार प्रयास गरिरहेको छ । चिनियाँ विशेषज्ञ टोलीले पनि नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको जनाइएको छ ।

रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भारतीय टोलीले नेपाली सेनासँगको समन्वयमा रेकी गरी पम्प तथा एस्काभेटर प्रयोग गरेर उद्धारको प्रयास गरिरहेको छ । लाङटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार गस्ती जारी रहेको छ भने भारतीय टोलीले समेत पम्प र एस्काभेटर प्रयोग गरी काम अघि बढाएको छ । मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियाली विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी तथा उद्धार कार्य सुरु गरेको छ ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म २६७ जना घाइतेको उद्धार गरी स्थानीय तथा काठमाण्डुका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्रीका अनुसार त्यसमध्ये १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्य घाइतेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।

प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि काठमाण्डुलगायत विभिन्न स्थानबाट चिकित्सक सहितको टोली परिचालन गरिएको छ । बाढीका कारण अवरुद्ध भएका स्वास्थ्य संस्थाको सेवा पुन: सञ्चालन गर्ने कामसमेत भइरहेको जनाइएको छ ।

राहतका लागि पाँच अर्बभन्दा बढी संकलन

सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत विपद् प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’मार्फत स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरिरहेको छ ।

पछिल्लो विवरणअनुसार प्रधानमन्त्री राहत कोषमा ९ वटा वाणिज्य बैंकका खातामार्फत ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ । हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको जनाइएको छ । संकलित रकमलाई प्रभावकारी रूपमा खर्च गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीले बताएका छन् ।

रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ । ती केन्द्रबाट आईतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन् ।

काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाम, जिल्ला प्रशासन कार्यालय काठमाण्डु तथा सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्रमा संकलित राहत सामग्री हवाई तथा स्थलमार्गमार्फत नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्‍याइएको छ । त्यहाँबाट धादिङको बैरेनी प्रहरी कार्यालय तथा रसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेकमा समेत राहत सामग्री पठाइएको छ ।

विपद् प्रभावितको व्यवस्थापन तथा पुन:स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोगसमेत प्राप्त भइरहेको प्रधानमन्त्रीले बताए । एसियाली विकास बैंकबाट ५ मिलियन अमेरिकी डलर अनुदान तथा १ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर तथा अस्ट्रेलिया सरकारबाट १ मिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता आएको छ ।

भारतबाट हालसम्म ४ चरणमा ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ । भारतले २३० फिट लामो एकल लेनको मोड्युलर स्टिल पुल पठाउनुका साथै थप ७ वटा बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । चीनबाट पनि ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको छ ।

स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसंघमार्फत खर्च हुने गरी १ मिलियन स्विस र्फ्यांक प्राप्त भएको जनाइएको छ ।

प्रभावित क्षेत्रमा सञ्चार सेवा पुन:स्थापित गर्ने कार्यसमेत अघि बढाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाइएको छ ।

बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएकोमा हालसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् । बाँकी टावर पनि शीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ ।

बाढीका कारण मुख्य सडकमा क्षति पुगेपछि प्रभावित क्षेत्रलाई जोड्न वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । तर भोटेकोशीमा पानीको सतह बढ्दा गएको राति पहिरो खसेपछि वैकल्पिक सडकसमेत प्रभावित भएका छन् । कृष्णभीर क्षेत्रमा कटान हुँदा सडक यातायात अवरुद्ध भएको र सडक पुन: सञ्चालनका लागि सम्बन्धित संयन्त्र परिचालित रहेको प्रधानमन्त्रीले बताएका छन् ।

७८१ शव फेला

बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा शव व्यवस्थापनको काम भइरहेको छ ।

पहिचान भएका शव आफन्तको जिम्मा लगाउने कार्य भइरहेको छ भने पहिचान हुन नसकेका शवको कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन सुरु गरिएको छ । ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शव व्यवस्थापन भइरहेको जनाइएको छ ।

प्रधानमन्त्री शाहले विपद्बाट प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्‍याउने तथा पुनर्निर्माण र पुन:स्थापनाको कार्य पूर्ण नतिजा नआएसम्म निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले सरकार हरेक प्रभावित नागरिकको अभिभावकका रूपमा उभिएको समेत बताएका छन् ।