काठमाण्डु- नेपालमा आएको विनाशकारी बाढीपछि नारायणी–गण्डक नदी हुँदै भारतको उत्तर प्रदेशतर्फ शव बगेर जाने क्रम जारी छ। भारतीय अधिकारीका अनुसार उत्तर प्रदेशको कुशीनगरमा हालसम्म १३ वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये ६ जना पुरुष र ७ जना महिला रहेका छन्।
जिल्ला प्रशासन र राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) का टोलीले नारायणी नदीमा निगरानी बढाउँदै शव फेला पर्नेबित्तिकै निकालिरहेका छन्। नदीमा मानव शवसँगै नेपालबाट बगेर आएका पशुका शव तथा अवशेषसमेत भेटिएका छन्।
कुशीनगरमा फेला परेका १३ शवमध्ये ६ वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा डीप फ्रिजरमा राखिएको छ। बाँकी ७ वटा शव गोरखपुरस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा पठाइएको छ। शवहरूको पहिचान गर्ने प्रक्रिया जारी रहेको अधिकारीहरूले बताएका छन्।
कुशीनगरकी कार्यवाहक जिल्ला मजिस्ट्रेट वन्दिता श्रीवास्तवले शवहरूलाई निर्धारित प्रोटोकलअनुसार सुरक्षित राखिएको बताएकी छन्। पोस्टमार्टमलगायत आवश्यक प्रक्रिया पूरा गरेपछि शवहरू नेपाल प्रशासनलाई हस्तान्तरण गरिने उनले जानकारी दिइन्।
जिल्ला प्रशासनले फेला परेका शवहरूको विवरण भारतीय विदेश मन्त्रालयमार्फत नेपाल सरकारलाई उपलब्ध गराइरहेको छ। शवको पहिचान गरी मृतकका परिवारसम्म अवशेष पुर्याउन नेपाल सरकारसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ।




प्रतिक्रिया