९ सय विद्यार्थीको ज्यान जोगाएका प्रधानाध्यापक दवाडीलाई दाता भेट्न काठमाण्डु पठाइयो

९ सय विद्यार्थीको ज्यान जोगाएका प्रधानाध्यापक दवाडीलाई दाता भेट्न काठमाण्डु पठाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट– त्रिशूली बाढीका बेला करिब ९ सय विद्यार्थीको ज्यान जोगाएका त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई विद्यालय पुनर्निर्माणका लागि दाता भेट्न काठमाण्डु पठाइएको छ।

बाढी प्रभावितको उद्धारका लागि फोकल पोइन्ट बनाइएको श्री नं. १ सैनिक तालिम केन्द्र, त्रिशूलीस्थित मैथली ब्यारेकमा रहेका गृहमन्त्री सुदन गुरुङले सोमबार दवाडीलाई विद्यालय पुनर्निर्माणका लागि दाता भेट्न काठमाण्डु पठाएका हुन्।

गृहमन्त्रीसँग भेट गरेपछि दवाडी सोमबार नै हेलिकोप्टरमार्फत काठमाण्डु आएका थिए।

‘गृहमन्त्रीज्यूले पठाएर काठमाण्डु आएको हुँ। आज उहाँले भन्नुभएको दातासँग भेट्ने कुरा छ। भेटेपछि थप कुरा थाहा होला,’ दवाडीले भने।

उनका अनुसार दातासँग भेटका लागि फोनसमेत आइसकेको छ। ‘मलाई फोन आइसकेको छ। भेटेपछि व्यक्ति को भन्ने थाहा होला,’ उनले भने।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीका बेला विद्यालयमा रहेका करिब ९ सय विद्यार्थीलाई सुरक्षित स्थानमा पुर्‍याउन प्रधानाध्यापक दवाडीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।