काठमाण्डु – नेकपा एमालेले विपद्पछिको उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले संसद् बैठकमा संसदीय दलका नेताले सम्बोधन गर्ने र विशेष संसदीय समिति गठनको माग गर्ने निर्णय गरेको हो ।
संसदीय दलका प्रमुख सचेतक ऐन महरले बैठकले बाढी–पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र बेपत्ता भएकाहरूको शीघ्र खोजी गर्न माग गरेको जानकारी दिए । उनका अनुसार एमालेका प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ ।
बाढीपछिको उद्धार कार्य प्रभावकारी हुन नसक्दा नागरिकको ज्यान जोगाउने अवसर गुमेको उनको भनाइ छ । एउटै घरबाट २२ भन्दा बढी शव निस्किनु तथा समयमै उद्धार नहुँदा ५–७ दिनपछि मात्र शव फेला पर्नुले सरकारी संयन्त्रको गम्भीर कमजोरी देखाएको उनले आरोप लगाए ।




प्रतिक्रिया