बाढी पीडितलाई १५ लाख सहयोग गर्ने हर्क साम्पाङको पार्टीको निर्णय

बाढी पीडितलाई १५ लाख सहयोग गर्ने हर्क साम्पाङको पार्टीको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – अध्यक्ष हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रसुवामा आएको बाढीका पीडितहरूका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

सुनसरीको धरानमा बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री राहत कोषमा पार्टी कोषबाट १५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता सत्य घलेले बताए । उनले आगामी १९ गते पार्टी अध्यक्ष साम्पाङ नेतृत्वको टोली बाढी पीडितको लागि राहत सामाग्री लिएर जाने पनि निर्णय भएको बताए ।

बैठकले यसअघि पार्टीमा प्रवेश गरेका सुदन किराँती समूहसँगको एकतालाई पनि अनुमोदन गरेको छ । घलेका अनुसार सुदन किरातीको ३ जनालाई पदाधिकारीमा र १५ जना केन्द्रीय सदस्य रहने गरी अनुमोदन गरिएको हो । बैठकले केन्द्रीय सदस्यद्वय शान्ति पाख्रिन र प्रसाद राईलाई केन्द्रीय सचिवमा नियुक्त गरेको छ ।

केन्द्रीय समितिको बैठक बुधबार पनि बस्ने घलेले बताए । ‘सुदन किराँती सहितको पहिलो पूर्ण बैठक भोलि बस्छ,’ उनले भने । ४ महिनाअघि पार्टी एकता हुँदा सुदन किरातीलाई वरिष्ठ नेता बनाइएको थियो । किराती समूहबाट १ उपाध्यक्ष, १ सचिव र १५ केन्द्रीय सदस्यसहित १८ जना पार्टी एकतामा सहभागी भएका थिए । एकताअघि २३ सदस्यीय रहेको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति एकतापछि अब ४१ सदस्यीय बनेको थियो ।