कोशी र कर्णालीमा वर्षाको सम्भावना, नदीहरूमा पानीको सतह बढ्दै

कोशी र कर्णालीमा वर्षाको सम्भावना, नदीहरूमा पानीको सतह बढ्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी र कर्णाली प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको छ ।

अहिले सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

गण्डकी प्रदेशका धेरैजसो ठाउँ तथा बागमती र लुुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

थोरै ठाउँमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
लमजुङको मस्र्याङ्दी नदीमा बाढी आएकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार बुधबार बिहान ६ बजेको मापनमा सुनकोशी, बुढीगण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेका हुन्।

नदीहरूमा पानीको सतह बढेर चेतावनीको तहमा पुगेकाले बाढी पूर्वानुमान महाशाखाले ती नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

यस्तै महाकाली नदीमा पानीको बहाव यो वर्षकै उच्च विन्दुमा पुगेको छ । मंगलबार बिहान नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक रहेको थियो । बेलुकी ९ बजे गरिएको मापनअनुसार पानीको बहाव एक लाख ८१ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

महाकाली नदीमा जलस्तर एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ । एक सय वर्ष पुरानो बनबासा पुल जीर्ण भएकाले जोखिम हुने भन्दै बर्षातका बेला पानीको बहाव बढ्दा ठूला सवारी साधनलाई रोक लगाउनु परेको भारतीय पक्षको भनाइ छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुराका साथै भारतको उत्तराखण्डको माथिल्लो भेगमा वर्षा हुँदा महाकालीमा जलस्तर बढ्ने गरेको छ ।