काठमाण्डु – अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू क्षतविक्षत पारेको छ। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य सडक खण्डहरूमा पहिरो जाँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ।
धादिङ खण्डमा पर्ने पृथ्वी राजमार्ग सबैभन्दा बढी प्रभावित भएको छ। बेनीघाट रोराङ–७ स्थित कृष्णभिर र गजुरी–२ को परेवाभिरमा ठूलो पहिरो खसेका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, बेनीघाट रोराङ–१० को ज्वाडु खोला र थाक्रे-२ को कमेरेभिरमा पहिरो पन्छाएर सडक एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ।
बीपी राजमार्गको काभ्रेको खुर्कोट–नेपालथोक सडक खण्डमा बाढीको उच्च जोखिम रहेका कारण सुरक्षा सतर्कता अपनाउँदै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने अवस्था हेरेर मात्र सवारी चल्न दिइएको छ।
यस्तै पासाङ ल्हामु सडक खण्डको सिटारमा बाढी आएका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, विदुर–लाच्याङ सडक र टोखा–छहरे सडक खण्ड पनि पहिरो र बाढीका कारण प्रभावित भएका छन्। रसुवाको उत्तरगया–५ खाल्टेमा बाढी आउँदा त्रिशूली-मैलुङ-स्याफ्रुबेसी सडक लामो समयदेखि बन्द रहेको छ।
लमजुङको बेसीसहर–मनाङ सडक अन्तर्गत खर्करे भिरमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने मुगु-गमगढी सडक खण्डको ताल्चामा पहिरो खसेका कारण यातायात ठप्प छ।
यसैगरी, बैतडीको गोठालापानी–झुलाघाट सडक खण्डमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको छ।






प्रतिक्रिया