काठमाण्डु – भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका नौ दक्षिण कोरियाली नागरिकको खोजी गर्न दक्षिण कोरियाले ४४ सदस्यीय विपद् राहत टोली नेपाल पठाएको छ।
टोली बुधबार बिहान काठमाण्डु आइपुगेको हो। दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) र अग्नि नियन्त्रण अधिकारीसहितको कोरिया विपद् राहत टोली (केडीआरटी) वायु सेनाको केसी–३३० साइग्नस विमानबाट काठमाण्डु पुगेको हो।
टोलीले नेपाली अधिकारी र नेपालमा खटिएको दक्षिण कोरियाली सरकारी आपत्कालीन प्रतिक्रिया टोलीसँग समन्वय गरेर खोजी तथा उद्धार अभियान सञ्चालन गर्नेछ। टोलीको प्रारम्भिक तैनाथी करिब १० दिनका लागि तय गरिएको छ। घटनास्थलको अवस्थाअनुसार तैनाथी अवधि थप गर्न सकिने कोरियाली अधिकारीले बताएका छन्।
टोलीसँग पाँच वटा उद्धार कुकुर र बेपत्ता व्यक्तिको खोजीमा प्रयोग हुने अत्याधुनिक उपकरण पनि छन्। तीमध्ये उच्च क्षमताका ड्रोन, भग्नावशेषभित्र रहेका व्यक्तिको आवाज तथा भिडियो पहिचान गर्ने उपकरण र तापीय दृश्य देखाउने उपकरण समेत छन्।
बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना निर्माणस्थलबाट नौ दक्षिण कोरियाली नागरिक बेपत्ता भएका थिए।
उनीहरूमध्ये छ जना डुसान इनरबिलिटी कम्पनीका र तीन जना कोरिया साउथ-इस्ट पावर कम्पनीका कर्मचारी हुन्।
बेपत्ता नागरिकको खोजीका लागि यसअघि पनि नेपाली तथा दक्षिण कोरियाली उद्धार टोलीले हेलिकोप्टर, ड्रोन र उद्धार कुकुरलगायतका साधन प्रयोग गर्दै आएका छन्। तर खोजी क्षेत्र ठुलो हुनुका साथै कठिन भूभाग, भग्नावशेष र हिलोका कारण उद्धारमा चुनौती भइरहेको छ।





प्रतिक्रिया