काठमाण्डु– अमेरिकाले इरानमाथि पुनः हवाई हमला गरेपछि इरानले इराक, जोर्डन र बहराइनमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन हमला गरेको छ।
इरानी रेड क्रिसेन्टका अनुसार दक्षिणी इरानको सिरिकमा विवाह समारोह भइरहेको घरमा अमेरिकी क्षेप्यास्त्रको छर्रा लाग्दा एक बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।
त्यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आईआरजीसी० ले जोर्डनस्थित अमेरिकी मरीन बेसमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। जोर्डनका अनुसार इरानबाट प्रहार गरिएका १३ मध्ये १० क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको थियो भने तीन वटा दुर्गम क्षेत्रमा खसेका थिए। घटनामा कुनै मानवीय क्षति नभएको जोर्डनले जनाएको छ।
यसैबीच, कुवेत र बहराइनमा पनि इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको प्रयास भएको बताइएको छ। अमेरिकी सेन्ट्रल कमान्डले भने इरानमाथिको पछिल्लो आक्रमण आईआरजीसीले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक पानीजहाजलाई लक्षित गरेको प्रयासपछि गरिएको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पुनः जवाफी हमला गरेमा अझ ‘कडा र उच्च स्तरमा’ आक्रमण गर्ने चेतावनी दिएका छन्। पछिल्लो घटनाक्रमले अमेरिका–इरान द्वन्द्व पुनः तीव्र बन्दै गएको संकेत गरेको छ।
सेन्टकमका अनुसार अमेरिकी सेनाले अमेरिकी पूर्वी समयअनुसार मंगलबार दिउँसो १२ बजे (ग्रिनविच समयअनुसार १६ बजे) आईआरजीसीका अखडालाई लक्षित गरी हमला सुरु गरेको थियो र बुधबार बिहानसम्म ती कारबाही पूरा भएको थियो।
इरानी सरकारी सञ्चारमाध्यमले चाबहार र कोनारक क्षेत्र तथा जिरोफ्टस्थित विमानस्थलमा क्षेप्यास्त्र वा अन्य प्रक्षेप्यास्त्र खसेको जनाएको छ। क्योशम टापु र बन्दर अब्बासमा पनि विस्फोटका आवाज सुनिएको बताइएको छ।
सेन्टकमका तर्फबाट बोल्दै अमेरिकी नौसेनाका क्याप्टेन टिम हकिन्सले सिरिकमा भएको घटनासम्बन्धी इरानी सरकारी सञ्चारमाध्यमका रिपोर्टबारे आफूहरू जानकार रहेको बताएका छन्।




प्रतिक्रिया