त्रिशुलीमा शव कुहिएर फैलियो दुर्गन्ध, स्थिति भयावह हुन सक्ने चिकित्सकको चेतावनी

त्रिशुलीमा शव कुहिएर फैलियो दुर्गन्ध, स्थिति भयावह हुन सक्ने चिकित्सकको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गत बुधबार त्रिशुली नदीमा गएको बिनासकारी बाढीमा बगेर ज्यान गुमाएकाहरुको शव सडेपछि बस्तीमा दुर्गन्ध फैलिन थालेको छ ।

बाढीबाट विस्थापित तटीय क्षेत्रका बासिन्दामा दुर्गन्धसँगै महामारी फैलिन सक्ने त्रास बढेको छ । रसुवाको टिमेरेदेखि, स्याफ्रुबेसी, चिलिमे, मैलुङ, शान्ति बजार, बेत्रावती, सोले, भैंसे, त्रिशुली, देवीघाट, महादेव फाँट र गल्छीसम्म नदी किनारका ठाउँठाउँमा शव छरपष्ट छन् ।

मानिसको शव मात्र नभई बाढीमा बगेका पशु चौपाया सढेर दुर्गन्ध फैलिएको छ । देवीघाटका माधवप्रसाद गजुरेलले समयमै शव व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको बताए । आफ्नै घर अगाडि स्काभेटरले खोतल्दा ८ जनाको शव भेटिएको उनले उल्लेख गरे । ‘खोला किनारमा जताततै शवहरु छन् । सडेर बस्तीभरि दुर्गन्ध फैलिन थालेको छ ।

लिखु गाउँपालिकाको स्काभेटरले बगर पन्छाउने क्रममा मेरै घर अगाडि एकै ठाउँमा ८ वटा शव भेटियो’, गजुरेलले काठमाण्डु पाटीसँग भने, ‘काग र गिद्धले शव बोकेर हिंड्न थालेका छन् ।’

बट्टारका स्थानीय दीपक ढुंगानाले पनि बाढीले बगाएर ल्याएका शवले बस्ती दुर्गन्धित भएको बताए । बाढीको पीडामा रहेकाहरु महामारी फैलिने हो कि भन्ने त्रासमा रहेको ढुंगानाले उल्लेख गरे । यस्तै उद्धारको ‘फोकल प्वाइन्ट’ का रुपमा प्रयोग गरिएको नेपाली सेनाको मैथली तालिम केन्द्र वरपर पनि दुर्गन्धले बसी साध्य छैन ।

हराएका आफन्तको खोजीमा गएकाहरु महामारीको प्रकोपमा पर्ने खतरा छ । नुवाकोटका पत्रकार रामहरि न्यौपाने नदी किनारामा धेरै शवहरु रहेको बताउँछन् । उनका अनुसार बेत्रावती र देवीघाटमा धेरै शव देखिएका छन् । ‘शव त सबैतिर छ । तर, बेत्रावती र देवीघाटमा धेरै छ’, उनले भने । सोमबार मात्र बाढीले डुबाएको बेत्रावतीको एक घरमा २४ जनाको शव भेटिएको थियो ।

त्रिशुली प्रादेशिक अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले समयमै शवको उचित व्यवस्थापन हुन नसके प्रदूषण फैलएर भयावह अवस्था आउन सक्ने चेतावनी दिए । गलेका शवका कारण पानीको मुहान दूषित हुन सक्ने र समुदायमा संक्रमण फैलिन सक्ने उनले औंल्याए । चराचुरुङ्गी र जनावरहरुले शव बोकेर बस्तीमा ल्याउन थालेको भन्दै उनले तत्काल रोक्न आवश्यक रहेको बताए । समुदाय र होल्डिङ सेन्टरहरुमा हैजा, टाइफाइट, हेपाटाइटिसजस्ता रोगको संक्रमण फैलिन सक्ने उनको भनाइ छ ।

डा. लामाले त्रिशूलीमाथि राखिएको तुइन हेर्न गएका बेला आफूलले पनि दुर्गन्ध महसुस गरेको उल्लेख गरे । ‘फर्मेसन कोलोनाइजेशन’ भइरहेको छ । किटाणुहरुका कारण पिउने पानीको मुहान र खाने कुरा दूषित हुन्छ । यसले हैजा, टाइफाइट र हेपाटाइटिसको संक्रमण फैलिएर भयावह अवस्था आउन सक्छ’, उनले भने, ‘ समुदाय वा होल्डिङ सेन्टरमा संक्रमण फैलियो भने धेरै नराम्रो अवस्था आउने म देख्छु ।’

डा. लामाले संक्रमण रोक्न शवहरुको तत्काल व्यवस्थापन गर्ने वा उक्त क्षेत्रमा किटानाषक छर्कनुपर्ने सुझाए ।