काठमाण्डु– चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएको पहिचान गरिएको बताएका छन्।
बुधबार पत्रकार सम्मेलनमा उनले चीनले मंगलबार चीनमा रहेका सम्बन्धित देशका दूतावासलाई समेत यसबारे जानकारी गराएको बताएका हुन् ।
बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि चीन सबै पक्षसँग सञ्चार, समन्वय र सहकार्य कायम राख्न तयार रहेको उनको भनाइ छ।
गुओका अनुसार नेपालको विपद्ग्रस्त क्षेत्रमा करिब १०० चिनियाँ नागरिक अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारमा सहयोग गरेको भन्दै चीनले नेपाललाई धन्यवाद दिएको छ।
चीनले नेपाली पक्षले बेपत्ता चिनियाँ नागरिकको खोजी, उद्धार तथा प्रभावित क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने प्रयासलाई निरन्तरता दिने आशा पनि व्यक्त गरेको छ।
जियाकुनले नेपाल–चीन सीमा क्षेत्रमा आएको विपद् दीर्घकालीन जलवायु तापक्रम वृद्धिका कारण हिमनदी अस्थिर हुँदा भएको बताए ।
गुओले चीन र नेपालका विज्ञहरूको संयुक्त मूल्यांकनअनुसार नेपालको एक हिमनदीमा बरफ र चट्टानसहितको पहिरो खसेर तीव्र गतिमा तलतिर बग्दा पहाडको सतहमा ठूलो क्षति पुर्याएको र त्यसैबाट विपद् निम्तिएको बताए।
हिमालय क्षेत्रमा हिमनदी पग्लिने क्रमले निम्त्याइरहेको संकटबारे चीनको धारणा सोधिएको प्रश्नको जवाफ दिँदै उनले जलवायु परिवर्तनले हिमनदीमा पारिरहेको दीर्घकालीन प्रभावप्रति ध्यान दिनुपर्ने बताए।
गुओका अनुसार चीन र नेपालले लामो समयदेखि मौसम विज्ञान, जलस्रोत तथा विपद् रोकथाम र न्यूनीकरणका क्षेत्रमा सहकार्य गर्दै आएका छन्।
विपद्पछि चीनले नेपाललाई प्रभावित क्षेत्रका तस्बिर, स्याटेलाइट तथा जलविज्ञानसम्बन्धी तथ्यांक र माथिल्लो क्षेत्रमा बनेको जोखिमपूर्ण तालबारेको पूर्वसूचना लगायत महत्वपूर्ण जानकारी उपलब्ध गराएको उनले बताए।
चीनले नेपालको विपद् राहत तथा उद्धार प्रयासलाई निरन्तर बलियो समर्थन गर्ने र विपद् रोकथाम तथा न्यूनीकरणमा सहकार्य थप सुदृढ गर्ने गुओले बताए।
यस्तै दक्षिणपश्चिम चीनको सिजाङस्थित जिरोङ काउन्टीमा रहेको जिरोङ पोर्टसम्मको स्थलमार्ग बुधबार बिहान १० बजेसम्म पुनः सञ्चालनमा आएको छ।
बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मत गरी मार्ग खुलाइएसँगै उद्धार टोली, राहत सामग्री र आवश्यक उपकरण विपद् प्रभावित क्षेत्रको मुख्य भागसम्म पुर्याउन थालिएको छ।
उद्धार तथा खोजी कार्य जारी रहँदा एक्साभेटरलगायतका भारी उपकरण प्रयोग गरी सडकमा थुप्रिएको माटो, ढुंगा र भग्नावशेष हटाउँदै प्रभावित क्षेत्रभित्र थप गहिराइसम्म खोजी भइरहेको छ।




प्रतिक्रिया