काठमाण्डु – भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरे सुनसान बनेको छ ।
सञ्चारविच्छेद र सडक सञ्जाल टुटेको कारण सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि हाल प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल सक्रिय रहेको छ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीले सो क्षेत्रका सबै बस्ती बगाएपछि २ हजार १०० भन्दा बढी व्यक्तिहरू पूर्णरूपमा सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरी बल नेपालले सीमित स्रोतसाधन र प्रतिकुल भौगोलिक अवस्थाका बावजुद खोजी तथा उद्धार कार्य गर्दै आइरहेको छ । हालसम्म सशस्त्र प्रहरीले त्यसक्षेत्रमा बेपत्ता भएका ९७ जनाको शव फेला पारेकोे छ ।
बाढीका कारण स्थानीय वासिन्दा मात्र नभई सुरक्षाकर्मी तथा नेपाली र विदेशी पर्यटकहरू समेत सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारका लागि हाल सशस्त्र प्रहरीबाहेक अन्य निकाय तथा स्थानीय कोही छैनन् ।
सशस्त्र प्रहरीले त्यस क्षेत्रमा सम्पर्कविहीन भएकाहरूको भदौ १० गतेदेखि नै निरन्तर खोज तथा उद्धार कार्यमा खटिइरहेको छ । हाल अन्य स्रोतसाधन प्रयोग गर्न सहज नभए तापनि सशस्त्र प्रहरीले आधुनिक प्रविधिको प्रयोग गर्दै बेपत्ताहरूको ड्रोन क्यामरा र केनाइन डगको समेत सहयोगमा खोजी कार्य गरिरहेको छ ।
हाल सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप राईको कमाण्डमा ३० जनाभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरू विशेष टोली परिचालित रहेका छन् भने नेपाल एपीएफ अस्पतालबाट प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. सुरेन्द्र भट्टराई र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. अनिल जोशी समेत खटिएका छन् ।

टोलीमा गोताखोर तथा रोप रेस्क्यु र विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू समेत छन् । बाढीपहिरोले स्याफ्रुवेशीदेखि रसुवागढी सडकखण्ड लगायतका मुख्य राजमार्गका करीब ४१ भन्दा बढी पुल बगाएको छ भने भौगोलिक विकटता, विद्युत् आपूर्ति अवरुद्ध भएका कारण त्यस क्षेत्रमा बेपत्ता भएका व्यक्तिहरूलाई सम्पर्क गर्न समेत कठिनाइ परेको छ । वैकल्पिक विद्युत् आपूर्ति लगायत साधनस्रोत लैजान कुनै पनि वैकल्पिक मार्ग नभएको कारण सशस्त्र प्रहरी बल नेपालको सञ्चारसाधनमा समेत सम्पर्क गर्न कठिनाइ परेको छ ।
त्यस क्षेत्रमा परिचालित सशस्त्र प्रहरी बल नेपालका ९ जना कर्मचारी बेपत्ता हुँदा समेत अन्य क्षेत्रबाट थप जनशक्ति खटाई बेपत्ता भएकाहरूको खोजी कार्यमा निरन्तर जुटिरहेको छ । बाढीमा परी घाइते तथा सकुशल उद्धार गरिएका नागरिकहरूलाई सुरक्षित साथ रसुवाको धुन्चेमा रहेको होल्डिङ सेन्टरमा पठाइएको थियो ।
खोजी तथा उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरीको टोलीले भदौ १२ गते साँझ टिमुरेमा माटोमुनि पुरिएको अवस्थामा ६ वर्षिया बालिकालाई जीवित उद्धार गर्न सफल भएको थियो । टोलीले बाढी आएको करीब ६० घण्टापछि ती बालिका माटोमुनि रोइरहेको आवाज सुनेपछि तत्काल उत्खनन् गरी उनको जीवितै उद्धार गर्न सफल भएको हो ।
सशस्त्र प्रहरी बलले ती बालिकाको उद्धारपश्चात् बोर्डर आउट पोष्ट टिमुरेमा ल्याएर न्यानो बनाई प्राथमिक उपचार गरेको थियो । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सशस्त्र प्रहरीले थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डु ल्याइएको थियो । सशस्त्र प्रहरीले टिमुरेमा क्षेत्रमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा समयमै व्यवस्थापनका लागि सरोकारवाला तथा अन्य निकायसँग निरन्तर समन्वय गरिरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए ।




प्रतिक्रिया