काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि सुरुङमा फसेका नागरिकको उद्धारलाई सबैभन्दा ठूलो प्राथमिकता बनाउन सरकारसँग आग्रह गरेका छन्।
बाढी प्रभावित नुवाकोटका विभिन्न गाउँको स्थलगत अवलोकनपछि थापाले बिहीबार फेसबुकमा भिडियो सार्वजनिक गर्दै सुरुङमा फसेका नागरिकका परिवारको पीडा गम्भीर रहेको भन्दै उनीहरूको उद्धारका लागि सरकारले उपलब्ध सबै उपाय अपनाउनुपर्ने सुझाव दिए ।
थापाले विपद् प्रभावित क्षेत्रबाट फर्किएपछि सार्वजनिक गरेको धारणा उल्लेख गर्दै आवश्यक समयमा बाह्य सहयोग लिन ढिलाइ भएको बताए। उनका अनुसार उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने कुरा उठाउँदा पनि समयमा सहयोग माग्ने काम हुन सकेन।
‘चुक भइसकेको छ। अब गल्ती ढाकछोप गर्न अर्को गल्ती गर्नु हुँदैन,’ थापाको भनाइ छ। एउटा नागरिकको जीवन बचाउन सकिए पनि त्यसलाई ठूलो उपलब्धिका रूपमा लिनुपर्ने उनले बताए।
थापाले बाढी प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए।
प्रभावित क्षेत्रमा अझै विभिन्न स्थानमा शवहरू अड्किएको र त्यसका कारण स्थानीय बासिन्दा थप पीडामा रहेको बताए। उनले प्रभावित क्षेत्रमा स्थानीय तहका जनप्रतिनिधिले कठिन परिस्थितिमा उल्लेखनीय काम गरिरहेको बताए।
खानेपानी, अस्थायी शौचालय, औषधि, राहत सामग्री तथा आश्रयस्थल व्यवस्थापनमा स्थानीय तह सक्रिय रहेको उनको भनाइ छ।
प्रदेश सरकार पनि प्रभावित क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै थापाले विपद्को प्रारम्भिक चरणमा संघीय सरकारले नेतृत्व लिनुपर्ने बताए। संघ, प्रदेश र स्थानीय तहले तत्कालको उद्धार तथा राहतदेखि पुनर्निर्माणसम्म आफ्नो भूमिका स्पष्ट गर्नुपर्ने उनको सुझाव छ।
थापाले प्रभावित क्षेत्रमा राहतको आवश्यकता पनि ठाउँअनुसार फरक रहेको बताए। कतै बेलीब्रिज र झोलुङ्गे पुल आवश्यक रहेको, कतै विद्युत् आपूर्ति र कतै खानेपानी, औषधि तथा अन्य आधारभूत सामग्रीको आवश्यकता रहेको उनले बताए।
राहत वितरणमा आवश्यकताअनुसार सामग्री पुर्याउन स्थानीय तहले नेतृत्व लिनुपर्ने थापाको सुझाव छ।
थापाले केन्द्र सरकारको सीमित सहयोगका बाबजुद स्थानीय तहका जनप्रतिनिधिहरूले रातदिन खटेर गरेको कामको प्रशंसा भिडियोमा गरेका छन् । गल्छी, विदुर, कोलोनी, दुप्चे लगायतका वडा अध्यक्ष र स्थानीय नेताहरूले जोखिम मोलेर गरेको उद्धार र व्यवस्थापन प्रशंसनीय रहेको उनको भनाइ छ ।
कुन आश्रयस्थलमा कति मानिस छन् र उनीहरूलाई के आवश्यक छ भन्ने विवरण संकलन गरी प्रविधिमार्फत सार्वजनिक गर्न सके सहयोगको दोहोरोपन र दुरुपयोग रोक्न सकिने उनले बताए।
राहत वितरणमा केवल चामल र दाल मात्र पर्याप्त नभएको थापाले औंल्याएका छन् । उनका अनुसार प्रभावित क्षेत्रमा सरसफाइ र स्वास्थ्यका लागि तत्काल शौचालय, दीर्घ रोगीहरूका लागि नियमित औषधि, अन्तर्वस्त्र र व्यक्तिगत सरसफाइका सामान, बालबालिकाहरूको मानसिक स्वास्थ्य र शिक्षाका लागि अस्थायी कक्षाकोठाहरूको आवश्यकता छ ।
उनले आश्रयस्थलमा रहेका गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा दीर्घरोगीका लागि छुट्टाछुट्टै आवश्यकता पहिचान गर्नुपर्ने पनि बताए। बालबालिकाको मानसिक स्वास्थ्य, शिक्षा तथा परामर्शमा समेत ध्यान दिनुपर्ने उनको भनाइ छ।
बाढीका कारण घरजग्गा र व्यवसाय गुमाएका नागरिकमा भविष्यप्रति ठूलो त्रास देखिएको थापाले बताए। पुनःस्थापना र पुनर्निर्माणको चरणमा उनीहरूलाई बसोबासका लागि जमिन, घर तथा जीविकोपार्जनको व्यवस्था हुने विश्वास राज्यले अहिले नै दिलाउनुपर्ने उनले बताए।
थापाले बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी राज्यसँगै समाज र समुदायले पनि लिनुपर्ने बताए। प्रभावित बालबालिकालाई आफू एक्लो नभएको अनुभूति दिलाउन सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ।
उनले विपद्को समयमा सहयोग गर्न सक्नेले सहयोगमा जोडिन र सहयोग गर्न नसक्नेले कम्तीमा पीडितलाई थप चोट पुग्ने अभिव्यक्ति नदिन आग्रह गरेका छन्।




प्रतिक्रिया