बाढीपीडितले नआएको गुनासो गरेपछि रास्वपा सांसद् लामिछानेको जवाफ-कलम चलाउने ठाउँमा बसेको थिएँ, सांसद् भएकाले आउन मिलेन

बाढीपीडितले नआएको गुनासो गरेपछि रास्वपा सांसद् लामिछानेको जवाफ-कलम चलाउने ठाउँमा बसेको थिएँ, सांसद् भएकाले आउन मिलेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नुवाकोट निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् अच्युतम लामिछानेले सांसद्को जिम्मेवारीमा रहेका कारण समयमै बाढी प्रभावित क्षेत्र पुगेर प्रभावित मतदाता भेट्न नपाएको बताएका छन् ।

बाढी आएको एक सातापछि सांसद् गाउँमा आएपछि मतदाताले आक्रोश पोखेका थिए । जवाफमा लामिछानेले सांसद् भएका कारण आउन नमिलेको जवाफ दिए । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

आफूले भौतिक रुपमा उपस्थिति जनाउन नसके पनि कलम चलाउने ठाउँमा बसेर उद्धार र राहतको काम गरेको दाबी सांसद् लामिछाने गर्छन् । ‘म अहिल सांसद् नभएको भए आउन मिल्थ्यो के फेरि’, उनले भनेका छन्, ‘म उहाँ बसेर कलम चलाउने ठाउँमा बसेर सबै गरिरहेको थिएँ ।’

मतदाता उनको जवाफबाट सन्तुष्ट हुँदैनन् । बाढीमा कलम चलाउनुपर्ने काम नहुने भन्दै भोलिपल्टै धेरै मानिस आउँदा आफूहरुले भोट दिएर जिताएका सांसद् सान्त्वना दिन नआएको गुनासो मतदाताले सुनाउँछन् । ‘कलम किन चलाउनुपर्यो भन्या यहाँ आएर मेन कुन चाहिंलाई भेटेर के गर्नुभएको छ तपाईंले ?, मान्छे भोलिपल्टै सबै आइसकेका थिए’, एक मतदाता भन्छन्, ‘केही गर्नुपर्थेन, जे हुनु क्षति भइसक्यो, तपाईंहरु नआत्तिनुस् है यत्ति गर्दिएको भए, हाम्रो अच्युत त आथ्यो भन्ने त हुन्छ नि ।’

जवाफमा लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह घटनाएको एक घण्टामा नुवाकोट आएको तर्क गरेर उम्किन खोज्छन् । ‘प्रधानमन्त्रीज्यू तुरुन्तै एक घण्टापछि यहाँ आइसक्नुभएको थियो’, उनले भने ।

मतदातालाई लामिछानेको जवाफ चित्त बुझ्दैन । सरकारलाई बाढी रसुवागढी आइपुग्दा जानकारी भएलगत्तै तत्काल तल्लो भेगमा सूचना सम्प्रेषण गरेको भए मानवीय क्षति कम हुने तर्क मतदाताको छ । बाढी रसुवागढी आएपछि हेलिकप्टरबाट माइकिङ गरेको भए धेरै मानिसको ज्यान बच्ने भन्दै मतदाताले प्रश्न गर्छन् ।

‘रसुवागढीबाट हिंडेको यदि सरकारलाई जानकारी छ भने आधी घण्टामा सबै मान्छे भगाउन सकिन्थ्यो । किन भने सरकारलाई त थाहा छ नि त रसुवागढी आएको भन्ने । हेलिकप्टर १५ मिनेटमा यहाँ आइपुग्छ’, उनीहरू भन्छन्, समयमै खबर खिएको भए भौतिक क्षति भए पनि मानवीय क्षति हुँदनथ्यो । हामी सबै परिवार गुमाएर बसेका छौं ।’

बाढी कतिबेला चीनबाट नेपालतर्फ प्रवेश गरेको जानकारी सांसद् लामिछानेलाई हुँदैन । उनले सँगै रहेका कार्यकर्तालाई सोध्छन्, ‘कति मिनेट लाग्यो रे बाढी उहाँबाट यहाँ आउन ?’, उनले सोधेको सुनिन्छ ।

कार्यकर्ताले उनलाई बाढी ८ः८० मा चीनबाट छिरेको र ९ः१५ मा नुवाकोट आइपुगेको जानकारी दिन्छन् । त्यसपछि लामिछाने भन्छन्, ‘भन्ने मात्र हो, गाह्रो त गाह्रै छ है ।’

मतदाताले सरकारबाट मिस्टेक भएकै छ भनेपछि लामिछानेले त्यसलाई स्वीकार गर्छन् । ‘त्यो त कति मिस्टेक छ, छ’, उनी भन्छन् ।