सशस्त्र प्रहरीले उद्धार कोषमा १५ करोड ५० लाख सहयोग गर्ने

सशस्त्र प्रहरीले उद्धार कोषमा १५ करोड ५० लाख सहयोग गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सशस्त्र प्रहरी बल, नेपालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका आफ्ना कर्मचारीका परिवारलाई तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बिहीबार बसेको परामर्श समितिको बैठकले बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई राष्ट्रसेवकहरूको तर्फबाट १५ लाख रुपैयाँ, राहतसम्बन्धी कार्यविधि, २०७९ बमोजिम ५ लाख र विपद् प्रकोप राहत कोषको मापदण्ड, २०८१ बमोजिम ५ लाख गरी कुल २५ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट लिएको र तिर्न बाँकी सम्पूर्ण ऋण मिनाहा गर्ने तथा उनका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने निर्णयसमेत गरेको छ।

त्यस्तै, बाढीका कारण सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत दिने निर्णय गरिएको छ। मृतक सशस्त्र प्रहरी कर्मचारीको स्मृतिमा उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने तथा प्रत्येक मृतकका आश्रित परिवारबाट एक–एक जनालाई सीपमूलक तालिम प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

बाढीमा परी ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।

यसैगरी, बाढी प्रभावित अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख, घरबारविहीन भएमा १ लाख तथा आंशिक भौतिक क्षति भएका र घाइतेलाई ५० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराउने निर्णय भएको छ।

बैठकले विपद्मा खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिने निर्णय गर्दै सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

यसैबीच, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय भएको छ। त्यसका लागि महानिरीक्षक तथा अतिरिक्त महानिरीक्षकले १५ दिन, नायव महानिरीक्षक तथा वरिष्ठ उपरीक्षकले १२ दिन, उपरीक्षकदेखि निरीक्षकसम्मले १० दिन, जुनियर अधिकृतले ७ दिन, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिन र सशस्त्र प्रहरी परिचरले ३ दिन बराबरको तलब योगदान गर्नेछन्।