विदुर– माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ दिनपछि उद्धार गरिएका सञ्जय साह अरूको ज्यान जोगाउन खोज्दा आफैं सुरुङभित्र फसेका थिए ।
घटना हुँदा साह आयोजनाको कन्ट्रोल रुममा अपरेटरका रूपमा कार्यरत थिए ।
सामान्य अवस्थामा कन्ट्रोल रुममा ५–६ जना मात्रै हुने गरे पनि दुर्घटनाका बेला आयोजनामा ४०–४५ जना मानिस रहेको उनले नेपाली सेनासँगको कुराकानीमा बताएका छन् ।
अचानक बाढी आएपछि साहले आफू मात्र बाहिर निस्किएर नहुने भन्दै पहिला अरूलाई सुरक्षित स्थानतर्फ पठाउन थाले ।
‘म कन्ट्रोल अपरेटरको काम गर्थें । अरू बेला ५–६ जना मात्रै हुन्थे । यतिबेला ४०–४५ जना नै थियो,’ उनले नेपाली सेनासँगको कुराकानीमा भनेका छन्, ‘कन्ट्रोल रुममा भएपछि मेरो जिम्मेवारी सबैको ज्यान बचाउनु थियो ।’
उनले दुर्घटनाको जानकारी गराउँदै सबैलाई बाहिर भाग्न भने । अरूलाई बाहिर पठाउने क्रममा आफू भने समयमै निस्कन पाएनन् ।
‘त्यस्तो घटना भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनुपर्यो । सबैलाई भनेँ, ड्याममा दुर्घटना भयो । सबैलाई बाहिर भाग्न लगाएँ । त्यसो गर्दा मेरो समय गयो, म निस्कनँ पाइन’, साहले भनेका छन् ।
त्यसपछि उनी सुरुङभित्रै फसे । नौ दिनसम्म सुरुङभित्र रहेका साहले आफू बसेको ठाउँनजिकै अरू मानिसहरू पनि रहेको बताएका छन् ।
उनका अनुसार सुरुङभित्र केही मानिसहरूले कुराकानी गरेको आवाजसमेत सुनिन्थ्यो । पावर हाउसमा समेत अन्य मानिसहरू फसेको हुन सक्ने उनको आशंका छ ।
‘सुरुङभित्र केही मानिसहरू कुराकानी गरेको सुनेँ । पावर हाउसभित्र पनि मानिस हुन सक्छन्, भाग्न नसकेको हुन सक्छ,’ उनले भनेका छन् ।
नौ दिनसम्म सुरुङभित्र रहँदा आफू महामन्त्र जप्दै बसेको पनि साहले बताएका छन् ।
शुक्रबार नेपाली सेनाको उद्धार टोलीले साहसहित कविर महर्जनलाई सुरुङबाट जीवितै उद्धार गरेको हो । साह नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान हुन् भने महर्जन प्राधिकरणकै सुपरभाइजर हुन् ।




प्रतिक्रिया