दुई जनाको जीवितै उद्धार भएको सुरुङबाट एक जनाको शव निकालियो

दुई जनाको जीवितै उद्धार भएको सुरुङबाट एक जनाको शव निकालियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एक जनाको शव निकालिएको छ ।

शुक्रबार बिहान सोही सुरुङबाट दुई जनालाई जीवितै बाहिर निकालेपछि थप व्यक्तिको खोजी तथा उद्धारका लागि परिचालित टोलीले एक जनाको शव फेला पारेर बाहिर निकालेको हो ।

त्रिशूली–३ ‘ए’ का आयोजना प्रमुख आवास ओझाका अनुसार सुरुङभित्रबाट निकालिएको शवको पहिचान खुल्न बाँकी छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा आयोजनाका प्राविधिकसहितको टोलीले सुरुङभित्र अन्य व्यक्तिको खोजी जारी राखेको छ ।

यसअघि शुक्रबार बिहान सोही सुरुङबाट सप्तरीका सञ्जय साह र काठमाण्डुका कविर महर्जनको जीवितै उद्धार गरिएको थियो ।

उनीहरू भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सुरुङभित्र फसेका थिए । करिब १० दिनपछि उनीहरूको उद्धार सम्भव भएको हो ।

साह आयोजनामा मेकानिकल फोरमेनका रूपमा कार्यरत छन् । बाढी आएको दिन उनी सिफ्ट ड्युटीमा थिए। महर्जन भने मेकानिकल सुपरभाइजर हुन् ।

उनी कुलेखानी जलविद्युत् आयोजनाबाट नियमित मर्मतसम्भारका लागि त्रिशूली–३ ‘ए’ पुगेका थिए ।

जीवितै उद्धार भएपछि साहले सुरुङभित्र आफूहरू नजिकै अरू व्यक्तिसमेत रहेको बताएका थिए ।

उनका अनुसार घटनाका बेला आफूसँगै धेरै मानिस रहेको र अरूलाई बाहिर निस्कन भन्दाभन्दौ आफैं सुरुङमा फसेको बताएका थिए । उनले पावरहाउमा पनि केही कामदार फसेको हुनसक्ने बताएका छन् ।

उद्धार टोलीमा नेपाली सेनाका मेजर मिलनकुमार जोशीलगायत सुरक्षाकर्मी तथा प्राविधिकहरू सहभागी छन् ।