काठमाण्डु– एमाले अध्यक्ष केपी ओलीले गत १० भदौमा त्रिशुलीमा आएको बिनाशकारी बाढीबाट प्रभावितका लाथि राहत बाँडेका छन् ।
ओलीले शुक्रबार पार्टी मुख्यालय च्यासलमा रसुवाका बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
ओलीले एमाले केन्द्रीय सदस्य प्रेमबहादुर तामाङलाई राहत हस्तान्तरण गरे । तामाङ रसुवा उत्तरगया गाउँपालिकाका स्थायी बासिँदा हुन् । तर, बाढी प्रभावित क्षेत्रका बासिन्दा भने होइनन् ।
उत्तरगया गाउँपालिकाका हाकुबेसी, मैलुङ, कटुन्जे पहिरोबेसी, नौबीसे, बेत्रावती र खाल्टे बाढी प्रभावित क्षेत्र हुन् ।
कार्यक्रममा ओलीले राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई समेत अघि बढाउनुपर्ने बताए ।
मुलुकले विपद्को सामना गरेका बेला सबैले सहयोगी हात बढाउनुपर्ने उनको भनाइ थियो ।
ओलीले बाढीपहिरोले क्षति पु-याएका स्थानमा तुइन, झोलुङ्गे पुल तथा सडक निर्माणका काम अघि बढाउनुपर्ने बताए ।
‘यतिबेला राहत र उद्धारको समय छ, हामी त्यसमा नै केन्द्रित हुन्छौं’, उनले भने, ‘राहत र उद्धारसँगै जोडिएको पुनर्निर्माणको काम पनि छ ।
ओलीले बाढीले पुल बगाएका स्थानमा तुइन र झोलुङ्गे पुल राखिदिन बागमती प्रदेश सरकारलाई आग्रह गरे ।
ओलीले हस्तान्तरण गरेका खाद्यान्न, लत्ता कपडा र भाँडाकुँडासहितका सामग्री रसुवा पठाइने एमाले कार्यालय सचिव डा. भिष्मराज अधिकारीले काठमाण्डु पाटीलाई जानकारी दिए ।




प्रतिक्रिया