काठमाण्डु- भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले ४ करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ ।
राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर अर्थात् झण्डै ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायताका साझेदार निकायसँग अपिल गरेको हो ।
भोटेकोशी तथा त्रिशूली नदीमा गएको बाढी र पहिरोबाट प्रभावित ८४ हजारभन्दा धेरै नागरिकसम्म जीवनरक्षक सहायता पुर्याउन अन्तरराष्ट्रिय निकायसँग राष्ट्रसंघले अपिल गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरु हुनुअघिका लागि (चार महिने) योजनालाई यो सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालमा रहेको राष्ट्रसंघको कार्यालयले जनाएको छ ।
राष्ट्रसंघ र मानवीय सहायताका साझेदार निकायहरू नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यसँगै समन्वयमा रहेर काम गरिरहेका छन् ।
नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले यो सहयोग अपिलको मुख्य प्राथमिकता सरकारकै नेतृत्वमा हिउँद लाग्नुअघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत, उपचार, सफा पानी र नगद सहयोग पुर्याउनु रहेको बताएका छन् ।




प्रतिक्रिया