डिएनए नमूना संकलन अब नुवाकोटमै

डिएनए नमूना संकलन अब नुवाकोटमै

रसुवा र काठमाण्डु जाने झन्झट हट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिएनए परीक्षणको नमूना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ।

यसअघि नमूना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाण्डु जानुपर्ने बाध्यता रहेकामा बाढीप्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमूना संकललन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा. दामोदर पौडेलले जानकारी दिए। उनका अनुसार बाढी परेर मृत्यु भई फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमूना लिएर परीक्षणपश्चात् पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ।

‘भोटेकोशीमा आएको बाढीमा परेर नुवाकोट र रसुवाका धेरै व्यक्ति हराएका भनेर निवेदन प्राप्त भएसँगै भेट्टिएका शवको पहिचानका लागि डिएनए परीक्षण गराउन परिवारका सदस्यसँग नमूना संकलन थालिएको छ,’ प्रहरी नायब महानिरीक्षक डा पौडेलले भने ।

उनका अनुसार डिएनए परीक्षणका लागि अुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा छोराछोरीमध्ये जोकोही एक जनासँग नमूना संकलन गरिएको छ। भेट्टिएका शवको डिएनएसँग तुलना गर्न सबैभन्दा नजिकका रगतसम्बन्धी आफन्तको नमूना बढी उपयोगी हुने भएकाले विशेषगरी बुबा, आमा, छोरा वा छोरीसँग नमूना लिनका लागि उनले आग्रह गरे।

यो सम्भव नभएको अवस्थामा भने नजिकका रगतसम्बन्धी आफन्तबाट पहिचान गर्न सकिने डा पौडेलले जानकारी दिए।

बाढीमा हराइरहेका व्यक्तिको परिवारको तर्फबाट नमूना दिने व्यक्तिको दुईप्रति फोटोसहित परिचय खुल्ने सरकारी कागजात आवश्यक पर्नेछ भने बालबालिकाको हकमा जन्मदर्ता वा विद्यालयको परिचयपत्र भए हुने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।

उनका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कारण हराइरहेको भनेर नुवाकोटमा दुई हजार ५६४ निवेदन प्राप्त भएका छन्। त्यसमध्ये हालसम्म १९२ शव प्राप्त भएकामा १८ जनाको मात्र सनाखत भएको छ। बाँकी सनाखत भएको अवस्थामा परिवारलाई उपलब्ध गराउने गरेर सोहीअनुसार व्यवस्थापन गरिएकाले शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रियालाई तीव्रता दिइएको प्रहरी उपरीक्षक रेग्मीले बताए।