काठमाण्डु– महोत्तरीबाट करिब २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीका एयरपड्स बरामद गरिएको छ।
सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीले शनिबार बिहान भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको १ हजार २ सय थान एयरपड्स बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोस्ट खैरवनीबाट खटिएको टोलीले एयरपड्स बरामद गरेको जनाएको छ।
सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशदत्त पाण्डे र सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरी नेतृत्वको टोलीले संयुक्त रूपमा उक्त सामान बरामद गरेको हो।
एयरपड्स ल्याउने व्यक्ति भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ सामान छाडेर फरार भएका थिए। बरामद एयरपड्स आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।




प्रतिक्रिया